पोखरा, २९ असार ।
कास्की प्रहरीले सेतो चम्किलो ढुंगाजस्तो पदार्थलाई बहुमूल्य वस्तु भएको भन्दै सर्वसाधारणलाई प्रलोभनमा पारेर ठगी गर्ने कार्यमा संलग्न ६ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा महानगरपालिका–२६ कालीकाचोकमा भाडामा बस्दै आएका व्यक्तिहरूले सेतो चम्किलो क्रिस्टलजस्तो देखिने पदार्थलाई अत्यन्त मूल्यवान वस्तु भएको भन्दै विभिन्न व्यक्तिलाई ठगी गर्ने गरेको सूचनाका आधारमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले उनीहरूको डेरा तथा शरीर खानतलासी गर्दा सेतो चम्किलो क्रिस्टलजस्तो लाम्चो आकारको एक थान वस्तु, काठको फोल्डिङ बट्टा एक थान, करिब ६ फिट ५ इन्च लामो केबलसहितको चार्जर एक थान तथा ६ थान मोबाइल फोन बरामद गरेको जनाएको छ । पक्राउ पर्नेमा पर्वतको फलेवास नगरपालिका–५ का ३५ वर्षीय राजन विक, सोही स्थानकी २७ वर्षीया रोशनी विक र ६९ वर्षीया खगिसरा कामी रहेका छन् ।
त्यस्तै, म्याग्दीको मालिका गाउँपालिका–४ घर भई हाल पोखरा–२६ बस्दै आएका ५१ वर्षीय दिलबहादुर बुढा मगर, म्याग्दीको रघुगंगा गाउँपालिका–५ घर भई हाल पोखरा–२७ अर्चले बस्ने २९ वर्षीय दीपक गोतामे तथा कास्कीको पोखरा महानगरपालिका–२१ निर्मलपोखरी घर भई हाल पोखरा–५ मालेपाटन बस्दै आएका ४५ वर्षीय प्रेमचन्द्र विश्वकर्मा पनि पक्राउ परेका छन् । प्रहरीले उनीहरूमाथि ठगीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान अघि बढाइएको जनाएको छ ।





















