बुटवल, २९ असार ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले सरकार हिजोको जनआन्दोलनको मर्मविपरीत शासन सञ्चालन गरिरहेको आरोप लगाएका छन् । उनले हिजो सडक आन्दोलन विधिको शासन स्थापना र कानुनको कार्यान्वयनका लागि भएको स्मरण गराउँदै वर्तमान सरकार भने विधिअनुसार चल्न नसकेको टिप्पणी गरे ।
शाहीले सवारी साधनबाट कालो सिसा हटाउने सरकारी अभियान सकारात्मक भए पनि त्यसको कार्यान्वयनमा सरकारकै मन्त्रीहरू असफल भएको दाबी गरे। उनले नियम सबैका लागि समान रूपमा लागू हुनुपर्नेमा जोड दिँदै मन्त्रीहरूले नै कानुन उल्लंघन गरिरहेको आरोप लगाए । “मन्त्रीहरू कालो सिसा भएको गाडीमा हिँडिरहेका छन्। सिटबेल्टसमेत नलगाई यात्रा गरिरहेका छन्। कारबाही भने जनतालाई मात्र हुने?” भन्दै उनले सरकारको दोहोरो मापदण्डप्रति प्रश्न उठाए । उनले कानुनको प्रभावकारी कार्यान्वयन गर्न सरकार स्वयंले उदाहरण प्रस्तुत गर्नुपर्ने धारणा व्यक्त गरे ।
हिजो केपीओली सरकारबाट यही गल्ती हुदा सत्ता छोड्नुपरेको भन्दै कानुन सबैलाई बराबर हुनुपर्ने उनले बताए । नेता शाहीले वहालवाला प्रधानमन्त्री, मन्त्री र सांसद लगायत सबैको सम्पत्ति छानबिन हुनुपर्ने भन्दै उनले सरकार आफ्नो सम्पत्ति छानबिन नगर्ने, अरूको मात्रै गर्नु गलत भएको बताए । ‘बहालवाला प्रधानमन्त्री, मन्त्री र सांसदहरूमध्ये धेरैको जागिर वा व्यवसाय नगरी करोडौंदेखि अर्ब बढी सम्पत्ति कहाँबाट आयो ? त्यसको स्रोत के हो ? भन्ने विषयमा आम नागरिकले प्रश्न गरिरहेका छन्,’ शाहीले भने, ‘सम्पत्ति छानबिन गर्ने हो भने सबैको गर्नुपर्छ । जागिर नगरी उहाँहरूको करोडौंको सम्पत्ति कहांबाट आयो ? पहिला आफैबाट सुरु गर्नुपर्छ ।’
रास्वपाका नेताहरू अर्बपति देखिएको बताउँदै उनले त्यसको छानबिन हुनुपर्ने बताए । उनले प्रधानमन्त्री बालेन्द्र शाहलाई इंगित गर्दै पूर्वमेयरहरूको सम्पत्ति छानबिन नगर्नुले सरकारको सुशासनको नियतमाथि प्रश्न उठेको बताए ।
एक अर्को प्रसंगमा उनले भारतमा गोदी मिडियाको प्रसंग जोड्दै उनले नेपालमा युट्युबेहरु जो कन्टेनरहरुले उचाल्ने काम गरेको आरोप लगाए । विशेष गरि विदेशमा काम गर्ने जो नेपालकै बारेमा खासै जानकारी हुदैन उनिहरुले भिडियोको आधारमा मानिसहरुलाई गालीगलौज गर्ने गरिरहेको दाबी गरे । देशमा ब्यापार, ब्यवसाय धरासायी भईरहेको बेला यसलाई सुधार गर्ने भन्दा पनि मिडिया कन्टेन्ट प्रयोग गरेर गलत कुराहरुको फैलाउने काम भएको उनले बताए ।


















