काठमाडौं, २३ असार ।
नेपालमा मनसुन थप सक्रिय भएसँगै देशका अधिकांश भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको मौसमविद्हरूले बताएका छन् । जलवायुविज्ञ डा. धर्मराज उप्रेतीका अनुसार मंगलबार साँझदेखि बुधबार साँझसम्म विशेषगरी पश्चिम तराईका जिल्लाहरूमा वर्षा प्रणाली बढी सक्रिय रहने अनुमान गरिएको छ ।
कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरलगायत पश्चिम तराईका जिल्लाहरूमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेको विभिन्न मौसमी मोडेलहरूले देखाएका छन् । ती जिल्लाहरूमा मंगलबार बिहानदेखि नै वर्षा सुरु भइसकेको छ। डा. उप्रेतीले बुधबार पश्चिम तराईका बासिन्दालाई विशेष सतर्कता अपनाउन आग्रह गरेका छन् ।
मौसम विश्लेषणअनुसार पश्चिमबाट सक्रिय भएको वर्षा प्रणाली क्रमशः पूर्वतर्फ सर्नेछ। त्यसका कारण बुधबारदेखि बिहीबारसम्म पूर्वी तराईसहित अन्य क्षेत्रमा पनि मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेको छ ।
लगातारको वर्षाले खहरे खोला, साना नदी तथा सहरी क्षेत्रमा बाढी र डुबानको जोखिम बढ्न सक्ने भएकाले जोखिमयुक्त स्थानमा बसोबास गर्ने नागरिकलाई आवश्यक सावधानी अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन् । समयमै सतर्कता अपनाए सम्भावित जनधनको क्षति न्यूनीकरण गर्न सकिने उनीहरूको भनाइ छ ।
यद्यपि, यो वर्षा कृषि क्षेत्रका लागि भने लाभदायक हुने अपेक्षा गरिएको छ । देशका धेरै स्थानमा धान रोपाइँ अझै बाँकी रहेकाले पर्याप्त वर्षाले किसानलाई रोपाइँ सम्पन्न गर्न सहज हुने विश्वास गरिएको छ । विज्ञहरूले विपद्को जोखिमप्रति सजग रहँदै मौसमसम्बन्धी आधिकारिक सूचना नियमित रूपमा पछ्याउन सबैमा अनुरोध गरेका छन् ।





















