Spread the love

बुटवल, २३ असार ।
सीपमूलक ब्यवहारिक शिक्षालाई जोड दिदै आएको ढवाहास्थित वेस्टर्न मेगा कलेजले कक्षा १२ परीक्षा दिएका विद्यार्थी लक्षित एक महिने तालिम दिएको छ । सोमबार एक समारोहका बिच निःशुल्क सीपमूलक आतिथ्य (हस्पिटालिटी) तालिममा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको हो । विद्यार्थीहरूको फुर्सदको समयलाई सीप विकासमा उपयोग गर्दै उनीहरूलाई आत्मनिर्भर, दक्ष तथा व्यावसायिक बनाउन उद्देश्यले तालिम सञ्चालन गरिएको कलेजले जनाएको छ ।

तालिममा रुपन्देही जिल्लाका विभिन्न विद्यालयका करिब ८० जना विद्यार्थीको सहभागिता रहेको थियो । तालिममा सहभागीहरूले बेकरी एन्ड किचेन, बारिस्टा तथा फुड एन्ड बेभरेज सेवा, गेस्ट ह्यान्डलिङ र हाउसकिपिङ सम्बन्धी सैद्धान्तिक तथा व्यावहारिक ज्ञान हासिल गरेका थिए । तालिमका क्रममा होटल तथा आतिथ्य क्षेत्रमा आवश्यक पर्ने आधारभूत सीप र सेवा संस्कृतिबारे समेत प्रशिक्षण प्रदान गरिएको कलेजका प्राचार्य अधिवक्ता किशु शर्माले बताए ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रोजगारी बजारमा प्रतिस्पर्धी र दक्ष जनशक्ति बन्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै उनले कलेजबाट सामाजिक उत्तरदायित्वअन्तर्गत निःशुल्क दर्ता, निःशुल्क तालिम तथा तालिम पूरा गरेपछि निःशुल्क प्रमाणपत्र प्रदान गरिएको बताए ।

कार्यक्रममा बीएचएम संयोजक सेफ विकास खत्रीले तालिम अवधिभर विद्यार्थीहरूले देखाएको अनुशासन, उत्साह र सक्रिय सहभागिताको प्रशंसा गर्दै सिकाइप्रतिको लगाव र नयाँ सीप आर्जन गर्ने इच्छाशक्तिले कार्यक्रमलाई अझ प्रभावकारी बनाएको बताए । सन् २०१३ देखि गुणस्तरीय तथा व्यावहारिक शिक्षामा जोड दिँदै आएको वेस्टर्न मेगा कलेजले अन्तर्राष्ट्रियस्तरको सीपमूलक शिक्षालाई प्राथमिकतामा राख्दै आएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्