गुल्मी, १७ असार ।
गुल्मीमा बँदेल नियन्त्रणका लागि बारीमा प्रवाह गरिएको करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले उनका श्रीमानलाई नियन्त्रणमा लिएको छ । जिल्लाको धुर्कोट गाउँपालिका–५ मन्टारीकी ६० वर्षीया हुमकला भण्डारीको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
प्रहरीका अनुसार ६६ वर्षीय भेषराज भण्डारीले आफ्नै घरदेखि करिब १५० मिटर टाढा रहेको बारीमा बँदेल नियन्त्रण गर्ने उद्देश्यले बिजुलीको पोलबाट करेन्ट प्रवाह गरेका थिए। सोही करेन्टमा परेर हुमकला गम्भीर घाइते भएकी थिइन् ।
घाइते भण्डारीलाई उपचारका लागि जिल्ला अस्पताल तम्घास पु¥याइए पनि उपचारकै क्रममा बुधबार बिहान ३ः२५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।
घटनापछि प्रहरीले करेन्ट प्रवाह गर्ने भेषराज भण्डारीलाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक वीरेन्द्र वीर विश्वकर्माले जानकारी दिएका छन् । प्रहरीले जंगली जनावर नियन्त्रणका नाममा अवैधरूपमा विद्युतीय करेन्ट प्रवाह गर्नु कानुनविपरीत र अत्यन्त जोखिमपूर्ण हुने भएकाले यस्ता कार्य नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।




















