काठमाडौं ।
जारी विश्वकपको नकआउट चरणमा स्थान सुरक्षित गरेको पोर्चुगल र कोलम्बियाले आईतबार बिहानको खेल गोलरहित बराबरी खेलेका छन । यो बराबरीसंगै कोलम्बिया भने फिफा विश्वकपको समूह ‘के’ मा शीर्ष स्थान हासिल गरेको छ । यस खेलले समूह विजेता र उपविजेताको टुंगो मात्र लगाएको थियो ।
समूह विजेता बनेको कोलम्बियाले अब अन्तिम १६ मा घानासँग प्रतिस्पर्धा गर्नेछ । घाना यसअघि क्रोएसियासँग २–१ ले पराजित भएको थियो । यता, उपविजेता बनेको पोर्चुगलले क्रोएसियाको सामना गर्नेछ । खेलमा दुवै टोलीले आक्रामक प्रदर्शन गरे पनि कुनै पनि टोलीले गोल गर्न सकेन । पहिलो हाफमा पोर्चुगलका ब्रुनो फर्नान्डेजले उत्कृष्ट अवसर सिर्जना गरेका थिए । तर‚ कोलम्बियाका गोलकिपर कामिलो भार्गासले उत्कृष्ट बचाउ गर्दै टोलीलाई गोल खानबाट जोगाए ।
पोर्चुगलका गोलकिपर डियोगो कोस्टाले पनि सानदार प्रदर्शन गर्दै ६ वटा बचाउ गरे । इन्जुरी समयमा कोलम्बियाका डाभिन्सन सान्चेजले हेडमार्फत गोल गरे पनि अफसाइड ठहरिएपछि उक्त गोल मान्यता पाउन सकेन ।
पहिलो विश्वकप उपाधिको खोजीमा रहेको पोर्चुगलले मिश्रित प्रदर्शनसहित नकआउट चरणमा प्रवेश गरेको छ । समूह चरणको पहिलो खेलमा पोर्चुगलले कंगोसँग १–१ को अप्रत्याशित बराबरी खेलेको थियो । सन् २०२२ को विश्वकपमा छनोट हुन नसकेको कोलम्बियाले यस संस्करणमा भने उत्कृष्ट पुनरागमन गर्दै उज्बेकिस्तानलाई ३–१ र कंगोलाई १–० ले पराजित गरेको थियो ।



















