काठमाडौं, ९ असार ।
बैंकिङ कसूर मुद्दामा अदालतबाट दोषी ठहर भई १३ वर्षदेखि फरार रहेकी एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल राष्ट्र बैंकको जाहेरीका आधारमा दर्ता भएको बैंकिङ कसूर मुद्दामा काठमाडौं महानगरपालिका–६ निवासी तथा चारित्रिक बिल्डर्स प्रालिकी सञ्चालक सविता कार्कीलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार कार्कीले चारित्रिक बिल्डर्स प्रालिको नाममा बनावटी कागजात तयार गरी हाउजिङ तथा निर्माण कार्य गर्ने भन्दै कृत्रिम व्यावसायिक परियोजना खडा गरेको आरोप छ । उक्त परियोजनाको आधारमा क्यापिटल मर्चेन्ट बैंकिङ तथा फाइनान्स लिमिटेडका पदाधिकारी तथा कर्मचारीलाई प्रभावमा पारी कर्जा स्वीकृत गराएको र प्राप्त कर्जा रकम परियोजनामा लगानी नगरी दुरुपयोग गरेको अभियोगमा उनीविरुद्ध मुद्दा दायर गरिएको थियो ।
उक्त मुद्दामा साविक पुनरावेदन अदालत पाटनले २०७१ वैशाख २९ गते कार्कीलाई ३ वर्ष कैद तथा ८ करोड ५० लाख रुपैयाँ जरिवाना हुने फैसला सुनाएको थियो । फैसला पश्चात फरार रहेकी उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले २०८३ असार ९ गते काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४ बाट पक्राउ गरेको हो । पक्राउ परेकी कार्कीलाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ ।





















