दांङ, ७ असार ।
प्रथम लुम्बिनी क्लासिक खुल्ला राष्ट्रिय पुरुष शारीरिक सुगठन तथा महिला एथ्लेटिक फिजिक प्रतियोगिता २०८३ को उपाधि माधव सुवेदी र नवलपरासीकी रबिना कुँवरले हात पारेका छन । ७० केजी वजन समुहबाट बिजेता बन्दै च्याम्पियन अफ दि च्याम्पियनमा वाकी ५० खेलाडीहरुलाई पाखा लगाउदै उनले उपाधि हात पारे । उपाधिसंगै उनले नगद १ लाख रुपैया, ट्रफी र व्यानेट हात पारे ।
दांङ घोराहीमा भएको प्रतियोगिताकै महिला एथ्लेटिक फिजिकतर्फको प्रतिस्पर्धामा नवलपरासीकी रबिना कुँवर विजेता बनिन । रुपन्देहीकी चुनकुमारी पुनले दोस्रो तथा दाङकी उर्मिला बस्नेत तेस्रो स्थान हासिल गर्न सफल भइन् । विजेता खेलाडीहरुले क्रमशः २० हजार, १० हजार र ५ हजार नगद, ट्रफि, प्रमाणपत्र र मेडल प्राप्त गरे ।
प्रदेश खेलकुद परिषद लुम्बिनीको आयोजना र लुम्बिनी प्रदेश शारीरिक सुगठन तथा फिटनेस संघको प्राविधिक सहकार्यमा भएको खेलमा पुरुष शारीरिक सुगठनतर्फ ५५ केजी तौल समूहमा रुपन्देहीका सुनिल आले प्रथम, दाङका सरोज कँडेल दोस्रो र दाङकै अजम स्वर्णकार तेस्रो भए । ६० केजी तौल समूहमा नवलपरासीका रेशम रानाले प्रथम, रुपन्देहीका अमृत गहतराज दोस्रो र बाँकेका करन वादिया तेस्रो भए । यसैगरी ६५ केजी तौल समूहमा नवलपरासीकै नवराज डुम्रेले स्वर्ण पदक जिते भने दाङका प्रतिक चौधरी दोस्रो र बाँकेका जगत राम महाउत तेस्रो स्थानमा चित्त बुझाए ।
प्रतिस्पर्धालाई अझ रोचक बनाउँदै ७० केजी तौल समूहमा दाङका माधव सुवेदीले प्रथम स्थान हासिल गरे भने रुपन्देहीका नविन श्रीस दोस्रो र हेटौँडाका राहुल कुमार शाह तेस्रो भए । यसैगरि ७५ केजी तौल समूहको प्रतिस्पर्धामा बाँकेका दिपेन्द्र बहादुर क्षेत्रीले बाजी मार्दै पहिलो स्थान सुरक्षित गरे भने रुपन्देहीका दिनेश रिमाल दोस्रो र तनहुँका शिशिर थापामगर तेस्रो स्थानमा रहे । पुरुषतर्फकै सबैभन्दा भारी अर्थात् ७५ केजीभन्दा माथिको तौल समूहमा दांङका दिपजंग रोकामगर प्रथम, रुपन्देहीका कुशल प्रसाद गुरुङ दोस्रो र बागलुङका सन्जोग बुढामगर तेस्रो हुन सफल भए । पुरुष शारीरिक सुगठन खेलका वजन समूह विजेताहरुले क्रमशः १५ हजार दस हजार र पाँच हजार नगद, ट्रफि, प्रमाणपत्र र मेडल प्राप्त गरे ।
एक समारोहका बिच विजेता तथा उपविजेता खेलाडीहरूलाई प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचिव तिरन गौतम, भौतिक पूर्वाधार विकासमन्त्री रत्न बहादुर खत्री, घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमा कुमारी डिसी तथा नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघका उपाध्यक्ष सितु प्रसाद श्रेष्ठ लगायतले ट्रफी, पदक र प्रमाणपत्रबाट पुरस्कृत गरे । देशका विभिन्न जिल्ला तथा व्यायामशालाबाट आएका ५१ खेलाडीहरुले प्रतियोगितामा भाग लिएका थिए ।





















