Spread the love

दाङ ।

दाङको तुलसीपुर उपमहानगरपालिका–१३ अम्बापुरस्थित फूलबारी क्षेत्रमा दुई अटो एक आपसमा ठोक्किँदा ९ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । फूलबारीबाट तुलसीपुरतर्फ आउँदै गरेको रा १ ह ४४६५ नम्बरको अटो र विपरीत दिशाबाट जाँदै गरेको रा १ ह ७१४७ नम्बरको अटो एकापसमा ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा रा १ ह ४४६५ नम्बरको अटो चालक तुलसीपुर–१३ का २२ वर्षीय विक्रम चौधरी गम्भीर घाइते भएका छन्। उनको अनुहार तथा शरीरको भित्री भागमा चोट लागेको छ। प्रारम्भिक जाँचका क्रममा उनले मदिरा सेवन गरेको खुलेको प्रहरीले जनाएको छ ।

अन्य घाइतेहरूमा सोही अटोमा सवार घोराही उपमहानगरपालिका–७ का २१ वर्षीय विजय चौधरी र २० वर्षीया सुस्मिता चौधरी रहेका छन् । त्यसैगरी अर्को अटोका चालक तुलसीपुर–१३ का ४६ वर्षीय रुद्र शाहीसहित १३ वर्षीय हिरालाल खत्री, २१ वर्षीय गोविन्द घिमिरे, ३५ वर्षीया केशरी घिमिरे, २७ वर्षीया हरिकला बुढा र १७ वर्षीया लक्ष्मी बुढा सामान्य घाइते भएका छन् ।

घाइते सबैको राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा उपचार भइरहेको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्