भैरहवा, २० पुस । क्लब क्रिकेटको विकास र युवा खेलाडीहरुलाई प्रोत्साहन गर्ने गरि रुपन्देहीमा पहिलोपटक मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता शुरु भएको छ । रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा आइतबारदेखि ‘पवनकुमार सेठिया स्मृति मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता’ शुरु भएको हो ।
प्रतियोगितामा त्रिभुवन आर्मी क्लब ‘ए’ टीम र रुपन्देही–११ टीम बिच ३ फरमेटमा खेल हुने शनिबार भैरहवामा पत्रकार सम्मलेन गरी आयोजक संघका सदस्य तथा प्रतियोगिता संयोजक प्रथम पराजुलीले बताए । आयोजकका अनुसार प्रतियोगिता अवधिभर ९० ओभरका एक, एकदिवसीय तीन र टी–२० तीन खेलहरु हुनेछन् । दुई टीमबीच यस्तो फम्र्याटमा पहिलोपटक क्रिकेट हुन लागेको हो । पुस २० र २१ गते टेष्ट, २३, २५ र २७ गते ओडीआई तथा २९, ३० र माघ १ गते टी–२० क्रिकेट हुनेछ । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा हुने उक्त प्रतियोगिता क्रिकेटको विकासमा कोशेढुंगा सावित हुने संघका अध्यक्ष हरिबहादुर थापाले बताए । यस्ता प्रतियोगिता नियमित आयोजना गर्न सक्ने हो भने क्रिकेट र खेलाडी दुबैका लागि राम्रो अवसर हुने उनले बताए ।
त्रिभुवन आर्मी क्लब ‘ए’ टीमका कप्तान जितेन्द्रसिंह ठकुरी र रुपन्देहीका कप्तान देव खनालले यो प्रतियोगिता आफूहरुका लागि निकै राम्रो अवसर भएको जनाए । धेरै क्रिकेट खेल्दा अनुभव र सिकाई हुने र खेलमा निखारता आउने खेलाडीहरुको दाबी छ ।
प्रतियोगितालाई भैरहवाका व्यवसायी हरिश सेठिया र सुनिल सेठियाले आफ्ना बुवा स्वर्गीय पवन कुमार सेठियाको स्मृतिमा मुख्य प्रायोजन गरेका छन् । प्रतियोगितामा विजेता टीमले ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । म्यान अफ द सिरिजले र प्रत्येक खेलको म्यान अफ द म्याच वापतको पुरस्कार लुम्बिनी नेत्रालय प्रालिले प्रायोजन गरेको छ ।





















