अर्घाखाँची, २ असार ।
रोटरी क्लब बुटवल डाउनटाउनले अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका–१२ अन्तर्गत टाकुडा र बस्यालटोलमा कार्यात्मक साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । समुदायका अशिक्षित तथा न्यून साक्षर व्यक्तिहरूको साक्षरता स्तर अभिवृद्धि गर्ने उद्देश्यले २० दिने कार्यक्रम गरिएको हो ।
कार्यक्रममार्फत सहभागीहरूलाई आधारभूत पढ्न, लेख्न र गणना गर्न सक्ने क्षमता विकास हुने रोटरी क्लब बुटवल डाउनटाउन वर्ष २०२५/२६ का अध्यक्ष बाबुराम बन्जाडेले बताए । बैंकिङ कारोबारको सामान्य जानकारी, रकमको हिसाब–किताब बुझ्ने, मोबाइल फोनमा नम्बर डायल गर्ने, आवश्यक सम्पर्क राख्ने तथा दैनिक जीवनमा आवश्यक पर्ने व्यावहारिक सीपहरू सिकाइने कार्यक्रमको लक्ष्य रहेको उनले बताए ।
कार्यक्रममा सन्धिखर्क नगरपालिका–१२ का वडाध्यक्ष नारायण खड्का, समाजसेवीहरू बाबुराम बस्याल, राजु मुखिया र सुनिल गिरी, क्लबका पूर्व अध्यक्षहरू राजेन्द्र ढकाल र जीवन अधिकारी, वर्ष २०२६/२७ का अध्यक्ष धर्मदत्त ज्ञवाली, उपाध्यक्ष मनोज भुसाल तथा कार्यालय सचिव तिलक अधिकारीलगायतको उपस्थिति रहेको थियो ।
प्रशिक्षक शारदा बेलबासे र सपना भुसालले कार्यात्मक साक्षरता, आधारभूत गणितीय ज्ञान तथा दैनिक जीवनमा उपयोगी व्यावहारिक सीपसम्बन्धी सहभागीहरुलाई प्रशिक्षण प्रदान गर्नेछन । कार्यक्रममा स्थानीय समुदायका करिब ४० जना महिला तथा ज्येष्ठ नागरिक सहभागी छन् ।




















