बुटवल, ३० जेठ ।
पाँचौँ सिख गुरु गुरु अर्जुन देवको पावन शहादत दिवसको अवसरमा बुटवलमा निःशुल्क सरबत तथा पानी वितरण कार्यक्रम सम्पन्न गरिएको छ । गोर्खा ब्वाइज स्पोर्टस क्लब, बुटवलको सहयोग तथा गुरुद्वारा गुरु नानक सत्संग, बुटवल–६ को आयोजनामा शनिबार कार्यक्रम गरिएको हो ।
बुटवलको ट्राफिक चोक क्षेत्रबाट आवतजावत गर्ने ५ हजारभन्दा बढी यात्रु तथा सर्वसाधारणलाई निःशुल्क सरबत, पानी तथा बिस्कुट वितरण गरिएको क्लबका उपाध्यक्ष अशोक थापाले जानकारी दिए । उनका अनुसार अत्यधिक गर्मीका बीच यात्रुहरूलाई राहत पुगोस् र मानव सेवाको भावना प्रवद्र्धन होस् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए ।
कार्यक्रममा गोर्खा ब्वाइज स्पोर्ट क्लबका पदाधिकारी, सदस्य तथा खेलाडीहरूले स्वयंसेवकको रूपमा सक्रिय सहभागिता जनाएका थिए । क्लबका महासचिव शंकर मल्लाहले खेलकुद गतिविधिसँगै सामाजिक उत्तरदायित्व निर्वाह गर्ने अभियानअन्तर्गत यस्ता सेवामूलक कार्यक्रमलाई निरन्तरता दिइने बताए ।
क्लबले खेलकुदको विकास, प्रतिभावान खेलाडी उत्पादन तथा सामाजिक सेवाका कार्यलाई समान रूपमा अगाडि बढाउने लक्ष्य राखेको जनाएको छ ।





















