पाल्पा, २७ जेठ ।
पाल्पाको तानसेन नगरपालिका–६ बर्तुङस्थित सडकमा सञ्चालन गरिएको अन्तर प्रदेश सार्वजनिक यातायात जाँच तथा अनुगमनका क्रममा ट्राफिक नियम उल्लङ्घन गर्ने ९ वटा सवारी साधनका चालक तथा धनिलाई कारबाही गरिएको छ । यातायात व्यवस्था विभाग सवारी परीक्षण कार्यालय बुटवल, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलको समन्वय तथा जिल्ला प्रहरी कार्यालय पाल्पा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाको सहजीकरणमा संयुक्त रूपमा गरिएको उक्त अनुगमन अभियानमा ८८ वटा सार्वजनिक सवारी साधनको जाँच गरिएको थियो ।
जाँचका क्रममा यातायात व्यवस्था कार्यविधि २०६० (संशोधित) को नियम ३९ को उपनियम २ र ३ सँग सम्बन्धित प्रावधान उल्लङ्घन गर्ने सवारीहरू पहिचान गरी आवश्यक कारबाही गरिएको प्रहरीले जनाएको छ । त्यस्तै, नियम विपरीत जडान गरिएको फक्स लाइट समेत हटाइएको छ । सवारीको प्राविधिक अवस्था, सुरक्षा मापदण्ड र ट्राफिक नियम पालना अवस्थालाई ध्यानमा राख्दै यस्तो अनुगमन गरिएको जनाइएको छ ।
अभियानमा मेकानिकल इन्जिनियर छन्द नारायण श्रेष्ठ, प्रहरी नायब निरीक्षक (प्र.नि.) रुद्र कुमार गिरी लगायत ट्राफिक प्रहरीको संयुक्त टोली सहभागी रहेको थियो । प्रहरीले आगामी दिनमा पनि सार्वजनिक यातायातलाई अझ सुरक्षित, व्यवस्थित र नियमअनुसार सञ्चालन गराउन यस्ता अनुगमन तथा कारबाही अभियान निरन्तर जारी रहने जनाएको छ ।




















