भैरहवा, २७ जेठ ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ बेलहियास्थित कोठहीमाई पथमा भन्सार तथा राजश्व छली गरी लुकाइछिपाई राखिएको ठूलो परिमाणको सामान प्रहरीले बरामद गरेको छ । विशेष सुचनाको आधारमा सो स्थानमा खानतलासीका क्रममा भन्सार छली गरी भित्र्याइएको अनुमानित ४१ लाख ३२ हजार २४० रुपैयाँ बराबरका विभिन्न सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय भैरहवाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्ण कुमार चन्दले जनाएको छ ।
बरामद गरिएका सामानमा ५३ बोरा (२ हजार १२० किलोग्राम) खर्बुजाको बिउ (वाटर मेलन सिड्स) मूल्य २३ लाख ३२ हजार रुपैयाँ, ४४ कार्टुन (६ हजार ३ सय ३६ पिस) कोलगेट पेस्ट मूल्य ५ लाख ७० हजार २४० रुपैयाँ, २२७ बोरा (२ हजार २७० किलोग्राम) ओखर मूल्य ११ लाख ३५ हजार रुपैयाँ तथा ३८ बोरा (९५० किलोग्राम) मकै मूल्य ९५ हजार रुपैयाँ रहेको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देही, इलाका प्रहरी कार्यालय बेलहिया, भैरहवा भन्सार कार्यालय बेलहिया तथा सशस्त्र प्रहरी बल नेपाल नं. २७ गण मुख्यालय रुपन्देहीको संयुक्त टोलीले उक्त स्थानमा रहेको गोदाममा खानतलासी गरेको थियो । नियन्त्रणमा लिइएका सामान सम्बन्धी थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहियाले प्रक्रिया अगाडि बढाएको छ ।





















