Spread the love

भैरहवा, २५ जेठ ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयले सीमा क्षेत्रमा हुने चोरी–तस्करी, राजस्व छली तथा अवैध कारोबार नियन्त्रणका लागि सञ्चालन गरेको विशेष अभियान शुरु गरेको छ । प्रदेशभर शान्ति सुरक्षा सुदृढ गर्दै खुला सीमा नाकाबाट हुने अवैध आयात, तस्करी तथा आपराधिक गतिविधि नियन्त्रणलाई प्राथमिकतामा राखेर प्रहरी परिचालन र निगरानीलाई थप प्रभावकारी बनाउने गरि चलाईएको अभियानका क्रममा बर्दियाबाट रु ४३ लाखभन्दा बढी मूल्यका अवैध सामान तथा सवारीसाधन बरामद गरेको हो ।

बर्दियाको मधुवन नगरपालिका–८ सानोश्री क्षेत्रमा भारतबाट भन्सार छली गरी नेपालतर्फ ल्याइँदै गरेको अवस्थामा दुई भारतीय नागरिकलाई नियन्त्रणमा लिइएको हो । पक्राउ पर्नेमा भारतको बहराइच जिल्लाको फकलपुर गाउँका २२ वर्षीय रिजवान अन्सारी र २० वर्षीय कलिम खान रहेका छन् । उनीहरूको साथबाट लु.१ च ९१५९ नम्बर र भे १ च ३५८० नम्बरका दुईवटा बोलेरो गाडी, भे १२ प ९९२१ नम्बरको १५० सीसी पल्सर मोटरसाइकल तथा ३ हजार ७ सय ९० दर्जन केरा बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद सवारीसाधन र केराको अनुमानित मूल्य २५ लाख ५९ हजार रुपैयाँ रहेको छ । पक्राउ परेका व्यक्ति, सवारीसाधन तथा सामान थप कारबाहीका लागि इलाका प्रहरी कार्यालय ढोडरी, बर्दियामा बुझाइएको छ ।

यसैगरि मधुवन नगरपालिका–६ मा गरिएको अर्को विशेष अपरेशनका क्रममा भारतबाट अवैध रूपमा भित्र्याइ गोदाममा लुकाइ राखिएका विभिन्न सामान बरामद गरिएको छ। पदमराज चौधरी र कोपिला खत्रीको घरमा छापा मारेर मटर, सुपारी, सुर्ती, चुरोट, बिडी, माउथ फ्रेशनर तथा प्लास्टिकजन्य सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ ।

कोपिला खत्रीको घरबाट ५ लाख ४१ हजार ७ सय २० रुपैयाँ बराबरको मटर, प्लास्टिक र सुर्ती तथा पदमराज चौधरीको घरबाट १२ लाख ६१ हजार १ सय २० रुपैयाँ बराबरका सुपारी, चुरोट, बिडी, सुर्ती, माउथ फ्रेशनर र अन्य सामग्री बरामद गरिएको थियो । उक्त सामानको कुल अनुमानित मूल्य १८ लाख २ हजार ८ सय ४० रुपैयाँ रहेको छ । दुवै अपरेशनबाट बरामद भएका सामान तथा सवारीसाधनको कुल मूल्य ४३ लाख ६१ हजार ८ सय ४० रुपैयाँ पुगेको प्रहरीले जनाएको छ ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक भूपेन्द्रबहादुर खत्रीले प्रदेशभर सुशासन, शान्ति सुरक्षा र कानुनको प्रभावकारी कार्यान्वयनलाई प्राथमिकतामा राखेर काम भइरहेको बताए ।

प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक शारदाप्रसाद चौधरीले सीमा क्षेत्रमा हुने तस्करी, राजस्व छली तथा अवैध कारोबार नियन्त्रणका लागि विशेष निगरानी र संयुक्त अभियानलाई निरन्तरता दिइएको जानकारी दिए । रुपन्देही, कपिलवस्तु, नवलपरासी (पश्चिम), बाँके, बर्दिया र दाङलगायत सीमावर्ती जिल्लामा विशेष निगरानी अभियान सञ्चालन गरिएको छ ।

 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्