काठमाडौं, २५ जेठ ।
सिंगापुरमा सम्पन्न एसियन गेम्स पुरुष क्रिकेट छनौटको फाइनलमा नेपालले हङकङलाई डीएलएस पद्धति अनुसार पराजित गरेको छ । सोमबार दिउँसो भएको फाइनल खेलमा हङकङले दिएको १८९ रनको बलियो लक्ष्य पछ्याइरहेको नेपालले ११.३ ओभरमा २ विकेट गुमाएर ११४ रन बनाएको अवस्थामा वर्षा भएको थियो । त्यसपछि खेल हुन नसक्दा डीएलएस पद्धति अनुसार नेपाल विजयी भएको हो । डीएलएस पार स्कोर ९५ रहेको थियो । नेपाल १९ रनले अघि रह्यो ।
नेपालका लागि कुशल भुर्तेलले ४० बलमा ६५ रनको योगदान दिए । रोहित पौडेल ३५ रनमा तथा दीपेन्द्रसिंह ऐरी ९ रनमा नटआउट रहे । हङकङका लागि एहसान खान र आयुष शुक्लाले १–१ विकेट लिए । नेपाल कीर्तिमानी जित हासिल गर्नबाट भने चुकेको छ । अंशुमन राथ र शाहिद वासिफले शानदार अर्धशतक बनाएपछि एसियन गेम्स पुरुष क्रिकेट छनोटको फाइनलमा हङकङले नेपालविरुद्ध बलियो योगफल खडा गरेको छ ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले २० ओभरमा ७ विकेट गुमाएर १८८ रन बनाएको थियो । हङकङका लागि अंशुमन राथले ४५ बलमा ६ चौका र ६ छक्कासहित सर्वाधिक ८० रन बनाए । शाहिद वासिफले २८ बलमा ५५ रन बनाए । शिव माथुरले २६ रन बनाए । नेपालका लागि शेर मल्लले ४ ओभरमा ३२ रन दिएर ४ विकेट लिए । करण केसीले २ तथा सन्दीप लामिछानेले १ विकेट लिए । नेपाल र हङकङ दुवै फाइनलसम्म आइपुग्दा अपराजित थिए ।




















