Spread the love

काठमाडौं, २२ जेठ ।

सरकारले अध्ययन बिदा तथा असाधारण बिदामा रहेका र बिदा अवधि सकिएपछि कार्यालयमा हाजिर नभएका तथा लामो समयदेखि सम्पर्कविहीन रहेका निजामती कर्मचारीहरूको खोजी थालेको छ ।

भूमि व्यवस्था, सहकारी तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार सूचना जारी गर्दै अध्ययन बिदा वा असाधारण बिदापश्चात कार्यालयमा नियमित रूपमा हाजिर नभएका, राष्ट्रिय किताबखाना (निजामती) मा व्यक्तिगत विवरण (पीआईएस) अद्यावधिक नगरेका तथा कार्यालयको सम्पर्कमा नरहेका कर्मचारीबारे जानकारी तथा गुनासा प्राप्त भएपछि अभिलेख अद्यावधिक अभियान सुरु गरिएको जनाएको छ ।

मन्त्रालयका अनुसार अध्ययन बिदा तथा असाधारण बिदासम्बन्धी विवरण राष्ट्रिय किताबखाना (निजामती) मा अद्यावधिक नभएका कर्मचारीहरूले सूचना प्रकाशित भएको मितिले तीन दिनभित्र अनिवार्य रूपमा आफ्नो अभिलेख अद्यावधिक गराउनुपर्नेछ ।
त्यस्तै, सबै मन्त्रालय, आयोग, सचिवालय तथा केन्द्रीयस्तरका कार्यालयहरूलाई आफ्नो निकायबाट स्वीकृत अध्ययन बिदा वा असाधारण बिदामा रहेका कर्मचारीहरूको विवरण, बिदा अवधि समाप्तिपछि उनीहरू हाजिर भए–नभएको अवस्था तथा अन्य आवश्यक जानकारी राष्ट्रिय किताबखाना (निजामती) सँग समन्वय गरी यकिन गर्न र तीन दिनभित्र अभिलेख अद्यावधिक गराउन निर्देशन दिइएको छ ।

मन्त्रालयले बिदा अवधि समाप्त भइसकेपछि पनि कार्यालयमा हाजिर नभएका वा लामो समयदेखि सम्पर्कविहीन रहेका कर्मचारीहरूको हकमा प्रचलित कानुनबमोजिम आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइने चेतावनी समेत दिएको छ ।
निजामती सेवाको अभिलेख व्यवस्थापनलाई व्यवस्थित, पारदर्शी र उत्तरदायी बनाउने तथा कर्मचारीहरूको वास्तविक अवस्थाबारे अद्यावधिक विवरण सुनिश्चित गर्ने उद्देश्यले उक्त सूचना जारी गरिएको मन्त्रालयले जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्