बुटवल ।
बुटवल क्रिकेट एकेडेमी लिग–२ यू–१४ क्रिकेट प्रतियोगिताको उपाधि सुपर किंग्सले चुमेको छ । बुटवल क्रिकेट एकेडेमीको आयोजनामा तिलोत्तमाको एक्स्ट्रा टेक ओभल क्रिकेट ग्राउण्डमा भएको प्रतियोगिताको फाइनलमा बुटवल वरियर्सलाई गर्दै सुपर किंग्सले उपाधि आफ्नो नाम गरेको हो । उपाधिसँगै सुपर किंग्सले नगद २० हजार रुपैयाँ, ट्रफी तथा उपविजेता बुटवल वरियर्स भने नगद १० हजार रुपैयाँ, ट्रफीमा चित्त बुझायो ।
प्रतियोगितामा विभिन्न विधातर्फ उत्कृष्ट खेलाडीहरूलाई पनि सम्मान गरिएको थियो । ऊर्जावान खेलाडीको उपाधि आरसीबीका सुवर्णा भट्टराईले प्राप्त गरिन् भने बोल्ड खेलाडीको पुरस्कार किंग्सका निवाम प्रताप खाँडले हात पारे । त्यस्तै, अनुशासित खेलाडी वारियर्सका प्रमोसन भण्डारी घोषित भए ।
उत्कृष्ट बलरतर्फ वारियर्सका शुभम अर्याल सम्मानित भए भने स्टार खेलाडीको उपाधि किंग्सकी अनुष्का खत्रीले जितिन् । उत्कृष्ट ब्याटरतर्फ वारियर्सका सक्षम शाक्य, सर्वोत्कृष्ट खेलाडी (प्लेयर अफ द टुर्नामेन्ट) को उपाधि किंग्सका विकास अर्याल घोषित भए । सुपर टाईटनका अंकित ज्ञवाली स्टाईलिस प्लेयर, टाईटनकै सिद्धार्थ केसी बेष्ट फिल्डरबाट पुरस्कृत भए ।
युवा क्रिकेट खेलाडीहरूको प्रतिभा प्रस्फुटन तथा खेलकुद विकास गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताले जिल्लामा उमेर समूह क्रिकेटप्रति आकर्षण बढाएको आयोजक क्लबका सचिव प्रथम पराजुलीले बताए ।





















