बुटवल, १३ जेठ । रूपन्देही आसपासका सूचना प्रविधि क्षेत्रमा आबद्ध विभिन्न उद्योगमा कार्यरत पेशाकर्मीहरूलाई १६ दिने एआई तालिम शुरु भएको छ । रूपन्देही उद्योग संघ र इन्स्योर परियोजनाको सहकार्यमा स्थापित सीप विकास इकाईको आयोजना तथा सक्षम नेम एजुकेसन प्रा.लिको समन्वयमा सीप अभिवृद्धिका लागि ९६ घण्टे निःशुल्क ए.आई तालिम औपचारिक रूपमा शुभारम्भ गरिएको हो ।
कार्यक्रमको रुपन्देही उद्योग संघका अध्यक्ष कृष्ण प्रसाद पराजुलीले उद्घाटन गर्दै वर्तमान समयको व्यवसायिक प्रतिस्पर्धामा एआईको प्रयोग अपरिहार्य बन्दै गएको बताए । उद्योग तथा व्यवसायीलाई प्रविधिमैत्री आधुनिक र प्रतिस्पर्धी बनाउन महत्वपूर्ण योगदान पुर्याउने उल्लेख गर्दै प्रशिक्षार्थीहरूले सिकेका सिपलाई व्यवहारमा उतारेर आफ्नो पेशागत दक्षता अभिवृद्धि गर्नुपर्नेमा जोड दिए ।
रूपन्देही उद्योग संघले उद्योगी व्यवसायी तथा युवाहरूको क्षमता विकासका लागि आगामी दिनमा पनि यस्ता समय सापेक्ष प्रविधिमैत्री र व्यवहारिक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।
तालिमका प्रशिक्षक इ.अमृत रानाभाटले एआई आजको विश्वमा व्यवसाय सञ्चालन, व्यवस्थापन, बजार विस्तार र ग्राहक सेवामा महत्वपूर्ण साधनका रुपमा स्थापित हुँदै गएको बताए । तालिमका क्रममा सहभागीहरुलाई व्यवसायमा उपयोगी विभिन्न एआई उपकरणको प्रयोग,डिजिटल सामग्री निर्माण, डेटा व्यवस्थापन, व्यवसाय प्रवद्र्धन तथा उत्पादकत्व वृद्धि गर्ने आधुनिक विधिबारे व्यावहारिक ज्ञान प्रदान गरिने उनले बताए ।
१९ उद्योगबाट २० जनाको सहभागिता रहेको कार्यक्रममा सहभागीहरूलाई आधुनिक प्रविधिसँग अभ्यस्त बनाई व्यवसायको उत्पादकत्व वृद्धि, सेवा प्रवाहमा सुधार, डिजिटल रूपान्तरण तथा प्रतिस्पर्धात्मक क्षमता विकासमा सहयोग पुर्याउनु कार्यक्रमको मुख्य उद्देश्य रहेको रूपन्देही उद्योग संघ सीप विकास इकाईका कार्यक्रम संयोजक खिमानन्द रिजालले बताए ।
रुपन्देही उद्योग संघ र इन्स्योर परियोजनाको बीचको सहकार्यमा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरूमा सीपमूलक तालिमहरू आयोजना गर्ने क्रममा बुटवलमा पहिलो पटक ए.आई तालिमको आयोजना गरिएको सीप विकास इकाईका कार्यक्रम अधिकृत प्रदिप पन्थीले बताए ।




















