भैरहवा, ९ जेठ ।
२४ औं संस्करणको ‘पंचकन्या रुपन्देही सुपरलिग’ को उपाधि वेष्टर्न क्रिकेट क्लब, बुटवलले हात पारेको छ । शनिबार भएको फाइनल खेलमा लुम्बिनी खुकुरी क्लब, भैरहवालाई ४५ रनले पराजित गर्दै वेष्टर्नले चौथोपटक उपाधि जित्न सफल भएको हो । गत सिजन पनि वेष्टर्न विजेता रहेको थियो । उपाधिसंगै वेष्टर्नले १ लाख १ रुपैयाँ तथा उपविजेता लुम्बिनी खुकुरी भने ५० हजार १ रुपैयाँमा चित्त बुझायो ।
भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको वेष्टर्नले ४८.२ ओभरमा सबै विकेट गुमाएर १ सय ८२ रन बनायो । उसका लागि देव खनालले ३०, दीपेश रोक्काले २७, सन्देश थापाले २६, सुमित नेवारले २०, रन्जित खत्रीले १९, प्रज्जवल थापाले १४, कलम अली मुसलमानले १३, अभिशेष गौतम र सागर गैरेले समान १०–१० रन बनाए । लुम्बिनी खुकुरीका बैतुल्लाह खानले ३, अजयकुमार चौहान र शाह आलमले २–२ विकेट लिए ।
जवाफी ब्याटिङमा आएको लुम्बिनी खुकुरी २४.५ ओभरमा केवल १ सय ३७ रनमा समेटियो । उसलाई सस्तैमा रोक्न वेष्टर्नका अभिशेष गौतमले ८.५ ओभर बलिङ गर्दै २ मेडनसहित ३६ रन खर्चेर सर्वाधिक ७ विकेट लिए । सुझाव थापाले ३ विकेट लिए । खुकुरीका समीर अली मुसलमानले ६७ र शंकर रानाले ४७ रन बनाए पनि अन्य ब्याटर नचल्दा टीम हार ब्यहोरेको थियो । अभिषेक गौतम म्यान अफ द फाइनलबाट पुरस्कृत भए ।
प्रतियोगितामा वेष्टर्नका अभिषेक गौतम म्यान अफ द सिरिज भई १५ हजार रुपैयाँ प्राप्त गरे । यस्तै, मेलवर्न क्रिकेट एण्ड स्पोर्टिङ क्लबका विपिन आचार्य बेष्ट ब्याटर, मेलवर्नकै अशोक धामी बेष्ट बलर र वेष्टर्नका सुझाव थापा उदयीमान खेलाडी घोषित भए । उनीहरु तीनैजनाले जनही ५ हजार रुपैयाँ प्राप्त गरे ।
एक समारोहका बिच विजेता र उपविजेता टीम तथा उत्कृष्ट खेलाडीहरुलाई आयोजक संस्था रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापा, सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा अधिकारी, नेपाल क्रिकेट संघका निवर्तमान कार्यबाहक सचिव प्रशान्तविक्रम मल्ल, सिद्धार्थ उद्योग बाणिज्य संघका पूर्वअध्यक्ष विष्णुप्रसाद शर्मा, खेल संयोजक प्रथम पराजुली, संघका कोषाध्यक्ष निरजप्रताप खाँण लगायतले पुरस्कार प्रदान गरे ।




















