काठमाडौँ, २२ वैशाख ।
क्रिकेट विश्वकप लिग–२ मा नेपालले ओमानलाई ८१ रनले पराजित गरेको छ । नेपालको जितमा आसिफ शेख र गुलशन झाको योगदान महत्वपूर्ण रहेको थियो । आसिफले ९४ रन बनाएपछि त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर ब्याटिङ गरेको नेपाल निर्धारित ५० ओभरको खेलमा ४९.५ ओभरमा २ सय ५६ रनमा अलआउट भएको थियो । गुलशनले ५ विकेट लिएपछि जवाफमा आएको ओमान ३९.५ ओभरमा १ सय ७५ रनमा अलआउट भयो ।
नेपालले लिग –२ मा ओमानलाई कीर्तिपुरमा पहिलो पटक पराजित गरेको हो । यसअघि तीन पटक ओमानले नेपाली क्रिकेटका गृह मैदानमा नेपाललाई पराजित गरेको थियो । यस शृंखलामा तेस्रो जित निकालेपछि नेपालको नेपाल २४ खेलमा १८ अंक पुगेको छ र नेपाल सातौं स्थानमा यथावत् छ । ओमान २८ खेलमा ३१ अंक जोडी तेस्रो स्थानमा छ ।
ओमानका कप्तान जतिन्दर सिंहलाई नन्दन यादवले सातौं ओभरमा १२ रनमा आउट गरी नेपालले विकेट लिन सुरु गरेको थियो । नन्दनले लगत्तै सिद्धार्थ बुक्कापटनमलाई शून्यमा सिधा थ्रोमा रन आउट गरी नेपाललाई दोस्रो सफलता दिलाए । ओपनर हसनाइन उल वाहव २९ रनमा आउट भए । गुलशनले ९ ओभरमा ३८ रन खर्चेर ५ विकेट लिई आफ्नो उत्कृष्ट बलिङ प्रदर्शन गरेका हुन् । उनले एक दिवसीय अन्तर्राष्ट्रियमा दोस्रो पटक एकै खेलमा ५ विकेट लिएका हुन् । २ वर्षअघि क्यानडामा पनि उनले ओमानविरुद्ध ५ विकेट नै लिएका थिए ।
नेपालका आसिफ र अर्जुन कुमालले दोस्रो विकेटमा १ सय २३ रनको साझेदारी गरे । दोस्रो खेल खेलिरहेका अर्जुनले ४८ रन बनाए । उनले ८७ बल खेली ४ चौका प्रहार गरे । आरिफ शेख अन्तिममा आउट भए । उनले २३ बलमा ४३ रन बनाए । उनले अन्तिम ओभरमा हसनाइन साहलाई लगातार तीन छक्का प्रहार गरेका थिए । ओमानबाट नदिम खानले विकेट लिए । उनले १० ओभरमा ४१ रन खर्चे । साह र सकिलले २–२ विकेट लिए ।




















