बुटवल, २२ वैशाख ।
भैरहवा विशेष आर्थिक क्षेत्र ब्यवस्थापन कार्यालय (सेज)मा उद्योगीहरूको आकर्षण बढ्दै गएको छ । उद्योगमैत्री व्यवस्थापन, सहुलियतपूर्ण सेवा र न्यून शुल्कका कारण सेज उद्योग सञ्चालनका लागि आकर्षक गन्तव्य बन्दै गएको हो । तर, बढ्दो आकर्षणसँगै जग्गा अभाव गम्भीर चुनौतीका रूपमा देखिएको छ । सेजभित्र उपलब्ध जग्गा सीमित हुँदा नयाँ उद्योग स्थापनामा समस्या उत्पन्न भइरहेको सम्बन्धित सरोकारवालाहरू बताउँछन् ।
अर्कोतर्फ, कानुनी जटिलताका कारण स्वीकृति लिएर पनि पूर्वाधार निर्माण नगरेका केही उद्योगहरूले लामो समयदेखि जग्गा ओगटेर राखेका छन् । यसले वास्तविक रूपमा उद्योग सञ्चालन गर्न इच्छुक लगानीकर्ताहरूलाई अवसरबाट वञ्चित बनाएको गुनासो छ ।
भैरहवा सेज ५२ विगाहा क्षेत्रफलमा फैलिएको छ । जहा २० वटा उद्योगहरुले सम्झौता गरेका छन । दर्ता भएकामध्ये १२ फ्याक्ट्रीमात्र अहिले चालु अवस्थामा छन । एउटा उद्योग जयबुद्घ मेटल क्राप्ट प्रालि बन्द भएको छ भने पंचकन्या एसएस एक्सपोर्ट प्रालि खारेज भएको छ । यसैगरि ६ वटा उद्योगका संरचना निर्माणधिन अवस्थामा रहेको सेजका सव ईन्जिनियर दिपक चन्द्र भाटले बताए । आयातमुखी नीति अर्थतन्त्रमा सुधार ल्याउने गरि विशेष आर्थिक क्षेत्रको अवधारण ल्याईएको उनले बताए । नेपालको पहिलो विशेष आर्थिक क्षेत्रका रुपमा भैरहवा रहेको भन्दै उनले यहा ब्यट्रि, कार्पेट, एलईडी बल्ब लगायतका उद्योग संचालन तथा गार्मेन्टको उद्योग निमार्णधिन अवस्था रहेको बताए ।
उद्योग संचालन अनुमति लिएको उद्योगले कम्तीमा १२० दिनभित्र संरचना बनाउनुपर्ने प्रावधान छ । सो सीमासमयमा काम अघि नबढे खारेजीमा जाने कानुनी ब्यवस्था रहेको छ । पछिल्लोसमय यही समयावधी पुरा गर्न १० दिन बाकी रहने अवस्थामा उद्योगहरु आएको छ । सरकारले सेजको प्रभावकारी कार्यान्वयनका लागि नीतिगत सुधार, जग्गा व्यवस्थापनमा कडाइ तथा निष्क्रिय उद्योगहरूमाथि कारबाही प्रक्रिया अघि बढाउनुपर्ने आवश्यकता देखिएको छ ।
भिडियो रिर्पोट





















