बुटवल,९ वैेशाख । यातायात कार्यालयमा जाँचपास र नामसारीमा विद्यामान ब्यवस्थाका कारण उत्पन्न समस्या समाधान गर्न लुम्बिनी अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आग्रह गरेको छ ।
बुधबार नाडा लुम्बिनीका अध्यक्ष गणेश भटराई, उपाध्यक्ष कृष्ण भण्डारी, महासचिव राम बेल्बासेसहितको टिमले यातायात व्यवस्था कार्यालय, बुटवलका प्रमुख ई. दिपक थापालाई ज्ञपानपत्र बुझाउदै अनुरोध गरेको हो ।
संस्थाका अध्यक्ष गणेश प्रसाद भट्टराईद्वारा हस्ताक्षरित पत्रमा नेपालभर सञ्चालनमा रहेका विभिन्न सवारी साधन—बाइक, कार, जिप, ट्रक, बस, ट्र्याक्टर, ब्याकुहोलोडर, रोलर, स्काभेटर लगायत—दर्ता भएको कार्यालयमै गई जाँच पासपछि मात्र नामसारी गर्नुपर्ने विद्यमान व्यवस्थाका कारण व्यवहारिक समस्या उत्पन्न भएको उल्लेख छ ।
विशेषगरी एक प्रदेशमा दर्ता भएका सवारी साधन अन्य प्रदेशमा सञ्चालन हुँदा नामसारीका क्रममा सवारी साधन रहेको स्थान नजिकको यातायात कार्यालयबाट प्राविधिक जाँच गरी सम्बन्धित दर्ता कार्यालयसँग समन्वय गरेर नामसारी प्रक्रिया पूरा गर्ने व्यवस्था गर्न सुझाव दिइएको छ ।
संस्थाले हालको व्यवस्थाका कारण सेवाग्राहीले टाढा–टाढा जानुपर्दा समय, खर्च र झन्झट बढेको भन्दै सहज र व्यवहारिक समाधानका लागि आवश्यक पहल गर्न सम्बन्धित निकायसँग आग्रह गरेको छ ।
यता प्रमुख थापाले नीतिगत रुपमा नै समस्या रहेको भन्दै यातायात ऐन र नियमले सम्बन्धित कार्यालयमा लगेर चेकजाँच गराउनुपर्छ भन्ने उल्लेख रहेको बताए ।





















