बुटवल, ७ बैशाख ।
गणेश देव पाण्डे निर्देशित पाँचौं फिल्म ‘पारी बुटोल’को टिजर सार्वजनिक भएको छ । १ मिनेट ४० सेकेण्ड लामो टिजरले केवल ग्याङ फाइट मात्र होइन, स्थानीय परिवेश र पात्रहरूको गहिरो मनोविज्ञानलाई पनि झल्काएको छ । ‘मञ्जरी’बाट चर्चा कमाएका पाण्डेको यो टिजरसंगै नेपाली फिल्म क्षेत्रमा नयाँ बहस सुरु भएको छ ।
‘बुटोल’ नामक स्थानमा रहेका दुई ग्याङबीचको टकराव छ, जसले फिल्मलाई स्पष्ट रूपमा ग्याङ्स्टर जनरामा उभ्याएको देखिन्छ । तर निर्देशक पाण्डेले यसलाई सामान्य ग्याङ्स्टर कथा भन्दा फरक बनाउने प्रयास गरेका छन् । उनका अनुसार फिल्मले युवाको महत्वाकांक्षा, पारिवारिक दबाब र सफलताको दौडमा हुने चलखेललाई यथार्थ रूपमा प्रस्तुत गर्नेछ ।
दृश्य र ध्वनि दुवै पक्ष बलियो देखिएका छन् ।
महेश पौडेलको छायांकन, जटावेदा बेनर्जीको पाश्र्व संगीत र ¥यापर सुरज क्षेत्री (भ्योमा) को ऊर्जा भरिएको गीतले टिजरलाई थप प्रभावशाली बनाएको छ । अभिनयतर्फ अनुप बराल, दीया मास्के र सुशील सिटौलाको उपस्थितिले फिल्मप्रति उत्सुकता बढाएको छ । उनीहरूको गेटअप र लुक्सले पात्रको गहिराइ संकेत गर्छ ।
ल्याक्सी श्रेष्ठको निर्माण र मनिषा अधिकारीको सह–निर्माणमा बनेको फिल्ममा अविरल प्रताप अधिकारी, कामेश्वर चौरासिया, दिव्य देव, आकांक्षा केसी, किरण श्रेष्ठ, अदिती शेर्पा लगायतका कलाकारहरूको पनि अभिनय छ । लोकेश बज्राचार्यको सम्पादन र एनबी महर्जनको द्वन्द्व निर्देशनले फिल्मलाई अझ धारिलो बनाउने अपेक्षा गरिएको छ ।
‘पारी बुटोल’ अब केवल एक्सन होइन, भावनात्मक र यथार्थपरक कथासँग दर्शकसामु आउन लागेको संकेत टिजरले स्पष्ट दिएको छ ।




















