बर्दघाट, २८ चैत्र । गत माघ १३ देखी २७ गतेसम्म बर्दघाट उद्योग ब्यापार संघले आयोजना गरेको प्रथम बर्दघाट एक्स्पो २०८२ को आय ब्यय सार्वजनिक गरिएको छ । आयोजक सँस्था बर्दघाट उद्योग ब्यापार संघले शनिबार पत्रकार सम्मेलन मार्फत आय ब्यय सार्वजनिक गरेको हो ।
१५ दिनसम्म बर्दघाट ४, बर्दघाट मण्डपमा सँचालित एक्स्पोमा कुल ७८ लाख ९६ हजार ९ सय २० रुपैया आम्दानी र ७१ लाख ७६ हजार ६ सय ४८ रुपैया खर्च भइ ७ लाख २० हजार २ सय ७२ रुपैयाँ सँस्थाले वचत गरेको सँघका कोषाध्यक्ष दिपक थापाले जानकारी दिए ।
एक्स्पोमा सर्वाधिक आय स्टल भाडाबाट भएको आम्दानी विवरणमा उल्लेख छ । स्टल भाडाबाट ३२ लाख ५० हजार र टिकट विक्रिबाट करिव २२ लाख २१ हजार आम्दानी भएको छ ।
अन्य आम्दानीका श्रोतहरुमा स्पोन्सर, बाल उद्यान, फिल्ड आम्दानी लगायतका रहेका छन भने खर्चतर्फ सर्वाधिक खर्च साँस्कृतिक कार्यक्रममा भएको छ, साँस्कृतिक कार्यक्रममा करिव २३ लाख खर्च भएको विवरण प्रस्तुत रहेको छ ।
यस्तै अन्य ठूला खर्चहरुमा स्टल एवम् कम्पाउण्ड निर्माणमा १३ लाख, मायाको चिनो र पुरस्कार लगायतमा ३ लाख, अतिथी सत्कारमा करिव २ लाख ७५ हजार खर्च भएको छ ।आयोजकले स्थानिय सरकारलाई मनोरन्जन कर वापत ३ लाख ३३ हजार बुझाएको छ ।
एक्स्पोमा करिव ७ करोड रुपैयाँको कारोवार भएको सँघका वरिष्ठ उपाध्यक्ष दिनेश न्यौपानेले जानकारी दिँदै पहिलो पटक एक्स्पोको आयोजना गर्दा केहि कमि कमजोरी भएपनि सिक्ने र अनुभव लिने मौका मिलेको बताए ।
कार्यक्रममा बोल्दै ब्यापार संघका अध्यक्ष राजु न्यौपानेले एक्स्पो सफल बनाउन सहयोग गर्ने स्थानीयवासी, व्यवसायी, प्रायोजक तथा सरोकारवाला निकायप्रति आभार व्यक्त गरेका छन्। साथै, आगामी दिनमा अझ व्यवस्थित र प्रभावकारी रूपमा कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता पनि जनाइएको छ।
स्थानीय स्तरमा व्यापार, पर्यटन तथा सांस्कृतिक प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको एक्स्पोले सकारात्मक प्रभाव पारेको जिकिर गरे ।





















