बुटवल, २८ चैत ।
रुपन्देहीमा जारी स्व. प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य गोल्डकप खुला नकआउट फुटबल प्रतियोगितामा पाहुना टोली कपिलवस्तु–११ फाइनल प्रवेश गरेको छ । शनिबार भएको दोस्रो सेमिफाइनलमा कपिलवस्तुले झरना स्पोर्टस क्लब, कुञ्जलापुरलाई पेनाल्टी शुटआउटमा पराजित गर्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
सिद्धेश्वर माविको खेलमैदानमा भएको निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएपछि पेनाल्टी शुटआउटमा कपिलवस्तु विजयी बन्यो । निर्धारित समयतर्फ खेलको ३५औं मिनटमा बिक्की चाम्लिङ राईको गोलबाट झरनाले खेलमा अग्रता बनाएको थियो । तर ७२ औं मिनटमा गणेश पुलामी मगरले कपिलवस्तुका लागि बराबरी गोल फर्काएका थिए । पेनाल्टी शुटआउटमा भने कपिलवस्तु भने ५–४ ले विजयी बन्यो । खेलमा कपिलवस्तुका गणेश पुलामी मगर म्यान अफ दि म्याचबाट पुरस्कृत भए ।
कपिलवस्तुले चैत्र ३० गते फाइनलमा देवदह ब्वाईज, देवदहसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा प्रथम हुने टोलीले ५ लाख ५ हजार रुपैयाँ र उपविजेताले २ लाख ५५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । यस्तै, विभिन्न विधामा उत्कृष्ट खेलाडी तथा कोचलाई नगद पुरस्कारको व्यवस्था गरिएको क्लबका सचिव प्रकाश क्षेत्रीले बताए । प्रतियोगितामा रुपन्देहीसहित चितवन, नवलपरासी, कपिलबस्तुका गरि १२ क्लबहरुले भाग लिएका छन ।






















