भरतपुर, १९ चैत ।
चितवनको भरतपुर महानगरपालिका–१० स्थित मालपोत कार्यालय परिसरबाट बिचौलियाको रूपमा सेवाग्राहीको फाइल बोकी काम गर्ने १६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । विहिबार निगरानी तथा चेकजाँचका क्रममा सेवाग्राहीसँग प्रत्यक्ष सम्बन्ध नराखी फाइल ओसारपसार गर्दै बिचौलियाको भूमिका निर्वाह गरिरहेका व्यक्तिहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय चितवन पठाइएको प्रहरीले जनाएको छ ।
नियन्त्रणमा लिइएकामध्ये कालिका नगरपालिका–९ का ५० वर्षीय डीलबहादुर भण्डारी, भरतपुर–१० का ४३ वर्षीय काशीराम वाग्ले, गीतानगरका ५९ वर्षीय विष्णुप्रसाद शर्मा, भरतपुर–१२ का ४१ वर्षीय रामकृष्ण घिमिरे, कालिका–६ का ४९ वर्षीय टेकनाथ वाग्ले, भरतपुर–१३ का ४९ वर्षीय कमलराज ढुङ्गाना रहेका छन् । यसैगरी भरतपुर–११ का ४२ वर्षीय रघुनाथ पौडेल, रत्ननगर–१५ का ३६ वर्षीय दिवस बुढाथोकी, भरतपुर–८ का ३८ वर्षीय बासुदेव आचार्य, रत्ननगर–१० का ४४ वर्षीय कान्छा महतो, खैरहनी–४ का २२ वर्षीय गणेशबहादुर नेपाली पनि नियन्त्रणमा परेका छन् ।
त्यस्तै भरतपुर–२३ का ५८ वर्षीय सुभाष पौडेल, भरतपुर–९ का ६० वर्षीय हरेराम पन्त, भरतपुर–१५ का ४३ वर्षीय राम अधिकारी, भरतपुर–१२ का ५२ वर्षीय कृष्णप्रसाद रेग्मी र रत्ननगर–८ का ३५ वर्षीय रोहित महतो समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मालपोत कार्यालयमा हुने सेवामा पारदर्शिता कायम गर्न र बिचौलियाको प्रभाव नियन्त्रण गर्न अभियानअन्तर्गत कारबाही गरिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।




















