बुटवल, १९ चैत । रुपन्देहीको बुटवल उपमहानगरपालिका–१३ जितगढीस्थित यातायात व्यवस्था कार्यालय परिसरबाट बिचौलियाको काम गर्ने २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सेवाग्राहीहरूलाई सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्राप्त गर्न ट्रायल छिटो गराइदिने प्रलोभन देखाई बढी शुल्क असुल गर्दै रसिद काट्ने कार्यमा संलग्न रहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले उनीहरूलाई विहिबार नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा कपिलवस्तु शिवराज नगरपालिका–३ खरेन्द्रपुरका २५ वर्षीय सरोज खनाल र गुल्मी रेसुङ्गा नगरपालिका–९ स्थायी घर भई हाल बुटवल–१३ बेलबास बस्ने ३७ वर्षीया कुसुम मरासिनी रहेका छन् । प्रहरीका अनुसार यातायात कार्यालयमा सेवा लिन आउने सेवाग्राहीहरूबाट अवैध रूपमा अतिरिक्त रकम असुल गर्दै बिचौलियाको भूमिका निर्वाह गरिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो । घटनासम्बन्धी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।




















