बुटवल,३० फागुन । बुटवल ११ योगीकुटीमा रहेको देवस्थल मन्दिरमा शनिबार शनिदेव तथा बजरंगी हनुमानजीको पूजा–प्रार्थनासहित प्राण प्रतिष्ठा कार्यक्रम सम्पन्न गरेको छ । २३ गतेबाट सुरु भएको धार्मिक अनुष्ठान शनिबार प्राण प्रतिष्ठासँंगै औपचारिक रूपमा सम्पन्न भएको हो ।
सो अवसरमा बोल्दै प्रमुख अतिथि १ हजार ८ स्वामी विवेकानन्द महाराजले धर्म, संस्कृति र आस्थाको संरक्षणका लागि यस्ता मन्दिरहरूको महत्वपूर्ण भूमिका रहने बताए । उनले मन्दिर केवल पूजा गर्ने स्थल मात्र नभई समाजलाई नैतिकता, सद्भाव र आध्यात्मिक मार्गतर्फ प्रेरित गर्ने केन्द्रका रूपमा विकास हुनुपर्ने धारणा व्यक्त गरे ।
स्थानीयवासी, दाताहरू तथा भक्तजनहरूको साथ र सहयोगका कारण मन्दिर स्थापना गर्न सम्भव भएको मन्दिर व्यवस्थापन समितिकी अध्यक्ष पुष्पा शर्माले बताइन । धार्मिक विधि–विधानका साथ आयोजित कार्यक्रममा श्रद्धालु भक्तजनहरूको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रममा भजन–कीर्तन, पूजा–आराधना तथा प्रसाद वितरण समेत गरिएको थियो ।





















