बुटवल, २९ फागुन ।
खेलकुदमार्फत लागू औषध न्यूनिकरण अभियान नारासहित रुपन्देहीमा स्वर्गिय बबुवा दाई स्मृति तेस्रो फुटसल प्रतियोगिता २०८२ शुरु भएको छ । आस्था समुहको आयोजना, बुटवल उपमहानगरपालिकाको संरक्षकत्व तथा एभरेष्ट ग्रुप हङकङको मुख्य प्रायोजनमा शुक्रबार उद्घाटन खेलमा मणिग्राम युनाईटेड एफसीले जित निकालेको छ ।
योगिकुटीस्थित लुम्बिनी फुटसल एरिनामा भएको खेलमा आयोजक आस्था समुहलाई ४–१ गोल अन्तरले पराजित गर्दै मणिग्राम दोस्रो चरणमा प्रवेश गरेको हो ।
कार्यक्रमको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले उद्घाटन गर्दै खेल गतिविधिमा पालिकाबाट आवश्यक बजेट बिनियोजन गरेको बताए । खेलमा युवाहरुको आर्कषण बुझेर नै प्राथमिकता दिएको उनले बताए । पालिकाबाट १ सय बढी खेललाई खेलाडी र खेल क्षेत्रमा लगानी नगरि युवाहरुको विकास नहुने उनले तर्क दिदै यस प्रकारका खेल गतिविधि निरन्तरता दिन आग्रह गरे ।
कार्यक्रममा आयोजक आस्था समुहका सचिव सुजन पुनले आस्था समुहको स्थापना र लागू औषध दुब्र्यसनी न्यूनिकरणमा स्वर्गिय मक्सुद अलि (बबुवा) को योगदानबारे स्मरण गरे ।
कार्यक्रममा बुटवल वडा नं. ३ का सदस्य अमृत खड्का, कोषाध्यक्ष दिनेश तुलाधर, एकनारायण पाण्डे खेल क्षेत्रको विकासमा स्थानिय सरकारको योगदान बारे प्रकाश पारे ।
प्रतियोगिताको उपाधि विजेता टिमलाई नगद १ लाख रुपैया, कप, मेडल, प्रमाणपत्र तथा उपविजेता टिमलाई नगद ५० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने समुहका रमेश मल्लले बताए । यसैगरि प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई १० हजार रुपैया, उत्कृष्ट गोलकिपर र हाईस्कोररलाई ५/५ हजार रुपैयाबाट पुरस्कृत गरिने उनले बताए ।
प्रतियोगितामा रुपन्देही, नवलपरासी, कपिलबस्तु, नारायणगढ, काठमाण्डौ लगायतका ३२ टिमको सहभागी रहने संयोजक भुवन श्रेष्ठले बताए । लागू औषध प्रयोग बिरुद्द प्रतियोगिता आयोजना गरिएको उनले बताए । गतवर्ष फुटसल फ्रेन्डस चितवन विजेता रहेको थियो ।





















