Spread the love

काठमाडौं, १९ फागुन । फाल्गुन शुक्ल पूर्णिमाका दिन मंगलबार बेलुका ग्रस्तोदित खण्डग्रास चन्द्रग्रहण लाग्ने भएको छ । नेपाल पञ्चांग निर्णायक विकास समितिले स्वीकृति दिएको पात्रोअनुसार चन्द्रग्रहण मंगलबार दिउँसो ३ बजेर ३४ मिनेटमा स्पर्श गर्नेछ । समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालका अनुसार ग्रहण स्पर्श हुँदा खग्रास अवस्था भए पनि नेपालमा चन्द्रोदयपछि खण्डग्रास रूपमा मात्र देखिनेछ । बेलुका ६ बजेर ३ मिनेटमा चन्द्रोदय हुँदा नै चन्द्रमा आंशिक रूपमा ढाकिएको अवस्थामा उदाउनेछ भने बेलुका ७ बजेर २ मिनेटमा ग्रहण समाप्त हुनेछ ।

नेपालबाट करिब एक घण्टा ग्रहण अवलोकन गर्न सकिनेछ । पृथ्वीले सूर्यलाई पूर्ण रूपमा छेक्दा पूरा चन्द्रमा ढाकिने अवस्थालाई खग्रास चन्द्रग्रहण भनिन्छ भने केही भाग मात्र ढाकिएमा खण्डग्रास चन्द्रग्रहण भनिन्छ । पृथ्वी, सूर्य र चन्द्रमा एउटै सरल रेखामा पर्दा पृथ्वीको छाया चन्द्रमामा पर्नु नै चन्द्रग्रहण हो ।

धर्मशास्त्रविद् प्रा. तोयराज नेपालका अनुसार चन्द्रग्रहणमा तीन प्रहर (नौ घण्टा) अघिदेखि सुतक लाग्ने मान्यता छ । सुतक लागेपछि बालबालिका, वृद्धवृद्धा र बिरामीबाहेकलाई भोजन निषेध गरिएको छ ।

समितिको पात्रोअनुसार मंगलबार बिहान ९ः०३ बजेपछि भोजन नगर्नुपर्ने उल्लेख गरिएको छ । ग्रहणका बेला जप, स्नान, ध्यान तथा पाठलगायत धार्मिक कर्म फलदायी हुने शास्त्रीय मान्यता छ ।

यता नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले मौसमले साथ दिए देशका सबै भागबाट ग्रहण स्पष्ट देख्न सकिने जानकारी दिए । चन्द्रग्रहण अवलोकनका लागि कुनै विशेष उपकरण आवश्यक नपर्ने उनले बताए । घरको छत, खुला चौर वा नजिकैको डाँडाबाट सुरक्षित रूपमा ग्रहण हेर्न सकिनेछ ।

यस वर्ष नेपालबाट देखिने यो एक मात्र ग्रहण भएको सोसाइटीले जनाएको छ । विश्वभर भने सन् २०२६ मा दुई चन्द्रग्रहण र दुई सूर्यग्रहण गरी चार ग्रहण लाग्नेछन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्