बुटवल, १७ फागुन ।
पूर्व राष्ट्रिय क्रिकेटर शक्ति गौचन नेपाली क्रिकेटको पर्यायझैँ मानिन्छन् । न्यून स्रोत–साधन, सीमित पूर्वाधार र चुनौतीपूर्ण परिस्थितिका बीच उनले आत्मविश्वासको बलमा टोलीलाई विश्व क्रिकेटको मञ्चसम्म पु¥याए । नेपालले विश्वकप खेलेर इतिहास रच्दा गौचनको भूमिका महत्वपूर्ण थियो । खेलाडी जीवनमा देशका लागि दिएको योगदानले उनलाई नेपाली क्रिकेटको स्थायी हस्ताक्षर बनाएको छ ।
सन्यासपछि पनि उनको यात्राले विश्राम लिएको छैन । रुपन्देहीस्थित ‘स्टार क्रिकेट एकेडेमी’ मार्फत उनले उमेर समूहका खेलाडी उत्पादनमा निरन्तर योगदान दिइरहेका छन् । एकेडेमीमा ८० भन्दा बढी खेलाडी नियमित अभ्यासमा संलग्न छन् र जिल्लास्तरीय प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेका छन् । आफ्नै स्रोत–साधनबाट विभिन्न उमेर समूहका प्रतियोगिता आयोजना गर्दै उनले खेलाडीको स्तर मापन र प्रतिस्पर्धी वातावरण निर्माणमा भूमिका खेलेका छन् । रुपन्देहीमा निजी लगानीमा ‘एक्स्ट्रा टेक ओवल’ अन्तराष्ट्रिय क्रिकेट स्टेडियम निमार्णमा पनि उनको पहल महत्वपूर्ण मानिन्छ ।
क्रिकेटमा सीमित नभई गौचन अहिले रुपन्देहीको समग्र खेल विकासको अभियानमा सक्रिय छन् । एकीकृत खेल पूर्वाधार विकास र दक्ष जनशक्ति उत्पादन आवश्यक रहेको उनको धारणा छ । सरकारी तहबाट सुरु भई अलपत्र परेका आयोजनाप्रति उनले चिन्ता व्यक्त गर्दै ती पूर्वाधार शीघ्र सञ्चालन हुनुपर्ने बताएका छन् ।
सैनामैना–७ स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, बुटवल–१५ को सेमलार कभर्ड हल, लाफा ब्याडमिन्टन क्लब तथा नयाँगाउँस्थित तारा खेलमैदान लगायत खेल पूर्वाधारको अवलोकन गर्दै उनले छिटोभन्दा छिटो यो काम सक्ने वातावरण सृजना गर्ने प्रतिवद्धता जनाए । ‘म खेल समग्र खेल क्षेत्रको विकासका लागि अग्रसर छु ।’– उनले भने । जनप्रतिनिधि र सरोकारवालासँग समन्वय गरी निर्माणाधीन संरचनाको संरक्षण र उपयोगमा जोड दिन उनले आग्रह समेत गरे ।
निजी क्षेत्रको योगदानलाई सम्मान गर्दै तीनै तहका सरकार र सरोकारवालाको हातेमालो भए मात्र रुपन्देही खेलकुद हब बन्न सक्ने उनको दाबी छ । मैदानमा घुमेको बलझैँ, शक्तिको ऊर्जा अझै पनि खेल विकासतर्फ निरन्तर घुमिरहेकै छ । यसमा सरकार, राजनीतिक दल, सरोकारवालाहरुको सहकार्य जरुरी रहेको छ ।




















