बुटवल, ८ फागुन ।
‘नेवा संस्कृति, नेवा परिकार’ नारासहित न्हु स्वाद परिवारद्वारा बुटवलमा नेवा भ्वाय् कार्यक्रम सम्पन्न भएको छ । नेवार समुदायको परम्परागत भोजन र संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यका साथ कार्यक्रम गरिएको हो ।
विश्व हिन्दु महासंघको सभाहलमा भएको कार्यक्रमको संस्कृतिविद बिमल बहादुर शाक्य औपचारिक रुपमा उद्घाटन गर्दै नेवा भ्वाय्को ऐतिहासिक तथा सांस्कृतिक महत्वबारे प्रकाश पारे । नेवार समुदायको पहिचान, परम्परा र सामूहिक एकतालाई मजबुत बनाउने रुपमा यो संस्कृतिको महत्व रहेको उनले बताए ।
विशेष गरि नेवारी समुदायमा शुभ कार्यहरु विवाह, व्रतबन्ध, जात्रा÷पर्व, कुल पूजा वा धार्मिक अनुष्ठान लगायतमा पङ्क्तिबद्ध बसेर सामूहिक रूपमा भोजन गर्ने प्रचलन रहेको छ । भोजनसँगै सांस्कृतिक र धार्मिक परम्परा जोडिएको हुन्छ । उनले परम्परागत नेवारी परिकार संरक्षण र पुस्तान्तरणको आवश्यकता समेत औंल्याए ।
कार्यक्रम संयोजक सृजना बज्राचार्यका अनुसार कार्यक्रममा ५०० भन्दा बढी सहभागीले नेवारी परिकारको स्वाद लिएका थिए । सहभागीले परम्परागत विधिअनुसार पस्केका भोजनको स्वाद लिए ।






















