बुटवल, ७ फागुन ।
रुपन्देहीमा सम्पन्न रात्रीकालीन दोस्रो जिल्ला स्तरीय ईन्टर स्कुल सेभेन ‘ए’ साईड फुटबल प्रतियोगिता २०८२ को उपाधि सिद्धार्थ ईगलिस बोर्डिङ स्कुलले चुमेको छ । बुटवल पब्लिक स्कुलको आयोजनामा विहिबार भएको फाईनल खेलमा जनज्योती माबिलाई पेनाल्टी शुट आउटमा पराजित गर्दै सिद्धार्थले उपाधि चुमेको हो ।
उपाधिसंगै सिद्धार्थ नगद २० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भयो । उपविजेता जनज्योती भने नगद १० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रमा चित्त बुझायो । प्रतियोगितामा जनज्योतीका युनिक कार्की उत्कृष्ट गोलकिपर तथा सिद्धार्थका बिशाल बिक सर्वोत्कृष्ट खेलाडी घोषित हुदै पुरस्कृत भए ।
तिलोत्तमा नगरपालिका वडा नं. ३ मा रहेको सुविधासम्पन्न विद्यालयको खेलमैदानमा भएको फाईनलमा निर्धारित समयमा गोलरहित बराबरी भएपछि खेल पेनाल्टी शुटआउटमा धकेलियो । सिद्धार्थका गोलकिपर अमन क्षेत्रीले दुई वटा प्रहार रोकेसंगै टिम विजेता बनेको थियो । सिद्धार्थका अमन क्षेत्री प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।
एक समारोहका बिच रुपन्देही जिल्ला खेलकुद विकास समितिका कार्यालय सचिव चन्द्रकान्त आचार्य, खेलकुद पत्रकार मंच रुपन्देहीका अध्यक्ष सुमन अधिकारी, प्रधानाध्यापक हेमलाल शर्मा, उपप्राचार्य रामचन्द्र पौडेल, प्रदिप थापाले विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गरेका छन ।
कार्यक्रममा समितिका कार्यालय सचिव शर्माले सरकारसंगै नीजि क्षेत्रको सहकार्यका कारण खेल पूर्वाधार र गतिविधि हुदै आएको बताए । खेलकुदको निरन्तरता भएपनि खेलाडीहरु अवसर पाउने तर्क गर्दै उनले खेलबाट बाच्न सक्ने अवस्था बिस्तारै विकास हुदै आएको बताए ।
कार्यक्रममा प्रधानाध्यापक हेमलाल शर्माले उमेर समुहको पहिलोपटक रात्रीकालीन फुटबल खेलाएको दाबी गर्दै ग्रासरुटबाट नै समग्र खेलको विकास हुने तर्क दिए । प्रतियोगितामा आयोजक बुटवल पब्लिक स्कुलसहित शान्ति नमुना माबि, अक्सफोर्ड ईगलिस बोर्डिङ स्कुल, सिद्धार्थ बोर्डिङ स्कुल, जनज्योति माबि, प्यारामाउण्ट बोर्डिङ स्कुल, एभरेष्ट बोर्डिङ स्कुल र सैनिक आवासिय माबि प्रतिस्प्रर्धा गरेका छन । गतवर्ष जनज्योती विजेता रहेको थियो ।




















