भैरहवा, ४ फागुन ।
भैरहवामा मंगलबारदेखि जिल्लास्तरीय अन्तर कलेज साई ग्लोबल टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । रुपन्देही क्रिकेट संघको आयोजना र साई ग्लोबल कलेजको मुख्य प्रायोजनमा प्रतियोगिता हुन लागेको हो ।
सोमबार भैरहवामा पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी पुरा भएको आयोजक संघका अध्यक्ष हरिबहादुर थापाले बताए । जिल्ला स्तरमा खेलाडी उत्पादनमा टेवा पुर्याउने उद्देश्यले विगत लामो समयदेखि साई ग्लोबल कलेजसँग सहकार्यमा प्रतियोगिता सचालन गर्दै आएको उनले बताए ।
फागुन ५ देखि १४ गतेसम्म चल्ने प्रतियोगितामा जिल्लाका विभिन्न २० वटा कलेजहरुको सहभागिता छ । संघले क्रिकेटको विकास र खेलाडी उत्पादनमा ध्यान दिँदै हरेक वर्ष तालिका अनुसार प्रतियोगिता गराउँदै आएको अध्यक्ष थापाले बताए ।
मुख्य प्रायोजक साई ग्लोबल कलेजमा प्राचार्य दिनेशमान अमात्यले क्रिकेट खेलको विकास र कलेजस्तरमा रहेको खेलाडीलाई प्लेटफर्म दिने गरि क्रिकेट संघको सहकार्यमा प्रतियोगिता आयोजना गर्दै आएको बताए ।
कार्यक्रममा क्रिकेट संघका कोषाध्यक्ष निरजप्रताप खाँणले खुल्ला आह्वान गरेर टीम दर्ता गरिएको जनाउँदै धेरै टिमको सहभागिताबाट प्रतियोगितालाई थप उत्कृष्ट बनाएको बताए । प्रतियोगिताको विजेता टिमले ५५ हजार ५ सय ५५ रुपैयाँ, उपविजेता टिमले नगद २५ हजार ५ सय ५५ रुपैयाँ, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै म्यान अफ द सिरिजले १० हजार, बेष्ट ब्याटर र बलरले समान ५–५ हजार, प्रत्येक खेलको म्यान अफ द म्याचले एक हजार रुपैयाँ पाउने छन् । प्रतियोगिताको अनुशासित टिमलाई पनि सम्मानित गरिने आयोजकले जनाएका छन् ।
रुपन्देहीमा संचालित नीजि तथा सामुदायिक कलेजका टीम प्रतियोगितामा दर्ता भएका छन । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा प्रतियोगिता संचालन हुनेछ । यो प्रतियोगिता विगत १० वर्षदेखि निरन्तर संचालन हुँदै आएको छ । पछिल्लो चार सिजनमा क्रिकेट संघसँगको सहकार्य रहेको छ ।





















