बुटवल,२६ माघ । कानुङ बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना सेयर सदस्यहरूका लागि सहकारी र उद्यमशीलतासम्बन्धी एकदिवसीय तालिम सोमबार बुटवलमा सम्पन्न गरेको छ ।
तालिममा सहकारीको परिचय, गतिविधि, सिद्धान्त, मूल्य र मान्यतासँगै उद्यमशीलताको अर्थ, आवश्यक तत्व, उद्यम विकासका पक्ष तथा बजार र बजारीकरणसम्बन्धी विषयमा सहकारी अभियन्ता दलबहादुर गुरुङले सहजीकरण गरेका थिए ।
कार्यक्रममा सहकारीका अध्यक्ष बेनप्रसाद थापाले संस्थाले सेयर सदस्यहरूलाई आयआर्जनतर्फ उन्मुख गराउँदै सहकारीलाई उन्नतशील तथा नमूना संस्थाका रूपमा विकास गर्ने लक्ष्यसहित काम गरिरहेको बताए । तालिममा सहभागी पार्वती थापाले कार्यक्रम उपयोगी र प्रभावकारी रहेको बताउँदै आफूलाई उद्यमशील बन्न थप प्रेरणा मिलेको प्रतिक्रिया दिइन् ।
तालिमा कार्यक्रममा उपसमिति संयोजक गुमाकुमारी सिंजाली, सञ्चालक समितिका कोषाध्यक्ष ठमी थापा, सदस्यहरू हेमबहादुर बुढाथोकी र पीताम्बर तथा चरङ्गे संकलन केन्द्रकी संयोजक निमकला सिंजालीको उपस्थिति रहेको थियो । तालिमा तीन दर्जनभन्दा बढी सेयर सदस्यहरूको सहभागिता रहेको कार्यालय प्रमुख कुसुम थापाले जानकारी दिइन् ।



















