बुटवल,२५ माघ । पूर्व अर्थमन्त्री तथा नेकपा एमाले रुपन्देही क्षेत्र नं. २ का उम्मेदवार विष्णु प्रसाद पौडेलले यसपटकको निर्वाचन विगतको तुलनामा सहज देखिएको दाबी गरेका छन्। जनसम्पर्क, संगठनात्मक तयारी र मतदातासँगको भेटघाटका आधारमा आफूलाई चुनाव जित्न धेरै गाह्रो नलागेको उनले बताएका छन्।
शनिबारसम्म २२ वटा वडामा निर्वाचन कार्यालय उद्घाटन, वडा परिचालन कमिटीको बैठक, स्थानीय अगुवा, जनसमुदाय तथा अन्य राजनीतिक दलका प्रतिनिधिसँगको भेटघाटपछि आफूलाई चुनाव जित्न धेरै कठिन नलागेको पौडेलले बताए। यद्यपि उनले सहज देखिँदैमा लापरवाही नगर्ने स्पष्ट पारे।
“यसपटक तुलनात्मक रुपमा सहज महसुस गरेको छु, तर यसलाई आधार मानेर हामी आराम गर्दैनौँ,” पौडेलले भने, “प्रचार र परिचालनलाई अझ प्रभावकारी बनाउँदै अघि बढ्छौँ।”पौडेलले आफूले गरेका काम र भावी योजनाबारे जनतासमक्ष स्पष्ट सन्देश पु¥याउन कार्यकर्तालाई आग्रह गरे । उनले विकास आयोजनाहरू नरोकिने आश्वासन दिँदै अत्यावश्यक सेवा अन्तर्गतका अधिकांश विकास योजनाको बजेट निकास गर्न सरकार प्रतिबद्ध रहेको बताए । चालु आर्थिक वर्षमा धेरै बजेट स्थगित भएको स्वीकार गर्दै उनले विकासका आयोजनाहरू रोकिनु उपयुक्त नहुने सुझाव सम्बन्धित मन्त्रीहरूलाई दिएको जानकारी गरँउ ।
आइतबार बुटवल उपमहानगरपालिका वडा नं. ६ को चन्द्रनगर कमिटीसँगको भेटघाट कार्यक्रममा बोल्दै उनले रुपन्देहीका विकास योजनाहरूले गति लिइरहेको र ती सबै योजनालाई निरन्तरता दिइने बताए। नीतिगत रूपमा विकासका काम अघि बढाउन ढोका खुल्दै गएको उनको भनाइ थियो ।
कार्यक्रममा स्थानीय अगुवा तथा नेता कृष्ण पोखरेलले वडामा रोकिएका खानेपानी आयोजना, कवर्ड हल निर्माण, सुर्खौला खोला व्यवस्थापनलगायतका योजनालाई शीघ्र अघि बढाउन सुझाव दिए। उनले खेलकुदको हब विकास, श्रवणपथ व्यवस्थापन र क्षेत्रलाई व्यवस्थित तथा आकर्षक बनाउने योजनामा जोड दिनुपर्ने बताए ।
यसैबीच पौडेलले बमघाट क्षेत्रमा सत्यवचनका प्रतिनिधिसँग भेटघाट गर्दै स्थानीय गुनासो सुनेका छन्। कार्यक्रम संयोजक घनश्याम चापागाईंले बमघाट क्षेत्रका समस्या र समाधानमा भएको ढिलाइबारे जानकारी गराएका थिए।
आइतबार नै बुटवल उपमहानगरपालिका वडा नं. ९ को निर्वाचन परिचालन कमिटीको कार्यालयसमेत उद्घाटन गरिएको छ।






















