Spread the love

बुटवल, २० माघ ।
रुपन्देहीमा सम्पन्न यु–१७ अन्तर एकेडेमी जिल्लास्तरीय क्रिकेट प्रतियोगिताको उपाधि वेष्ट्रन क्रिकेट एकेडेमीले चुमेको छ । मंगलबार भएको फाईनलमा तिलोत्तमा क्रिकेट एकेडेमीलाई १ विकेटले पराजित गर्दै वेष्ट्रनले उपाधि चुमेको हो । तिलोत्तमा क्रिकेट एकेडेमी उपविजेतामा चित्त बुझायो । प्रतियोगितामा तिलोत्तमा क्रिकेट एकेडेमीका सागर भण्डारी म्यान अफ दी सिरिज, देवदहका सुप्रिम सुनार बेष्ट ब्याट्सम्यान, हेमराज बेष्ट बलरबाट पुरस्कृत भए ।

देवदह क्रिक्रेट मैदानमा भएको खेलमा टस जितेर वेष्ट्रनले ब्याटिङको निम्तो दिएपछि तिलोत्तमाले २९.५ ओभरमा सबै बिकेट गुमाएर १२३ रन जोडेको थियो । तिलोत्तमाका लक्ष्मण खरेलले ६४ बलमा ४३ तथा अमन बोहराले १४ बलमा १३ रनको योगदान दिए । कम स्कोरमा रोक्न वेष्ट्रनका सुप्रिम कंडेलले ५ तथा इशान रायमाझीले ३ बिकेट लिए । मध्यम लक्ष्य पछ्याएको वेष्ट्रनले ३९.२ ओभरमा जित निकाल्यो । वेष्ट्रनको जितमा सागर गैरेले ३४ बलमा ३८ रनको नटआउट पारी खेले । यसैगरि अनुप न्यौपानेले ६७ बलमा २३ रनको योगदान दिए । तिलोत्तमाका सागर भण्डारीले ६ तथा सहज अर्यालले २ बिकेट लिएपनि जित निकाल्न सकेनन । खेलमा वेष्ट्रनका सुप्रिम कंडेल प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।

एक समारोहका बिच देवदह नगरपालिकाका नगरप्रमुख ध्रुव प्रसाद खरेल, एम्पायर सत्यजित सरकार, स्टार क्रिकेट एकेडेमीका एमडी कविता गौचन, नगर खेलकुद विकास समितिका संयोजक कमल पाण्डेय, स्टार क्रिकेट एकेडेमीका प्रमुख प्रशिक्षक तथा पूर्व खेलाडी शक्ति गौचन, खेलकुद पत्रकार मंचका अध्यक्ष सुमन अधिकारी, लुम्बिनी खुकुरी क्लबका अध्यक्ष महेश थापा, पूर्व राष्ट्रिय खेलाडी तथा एम्पायर संन्जय गुरुङ, वेष्ट्रन क्रिकेट क्लबका डाईरेक्टर भुवन पाण्डेले विजेता, उपविजेता टिम तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गरे ।

कार्यक्रममा नगरप्रमुख खरेलले खेलकुद पर्यटनका रुपमा देवदहलाई विकास गर्ने लक्ष्यसहित काम अघि बढाएको बताए । हालको क्रिकेट मैदानलाई स्तरवृद्धिसैगै नजिकको पार्क ब्यवस्थापनलाई एकिकृत रुपमा विकास गर्दै यस क्षेत्रको पर्यटकियस्थल बनाउने गरि काम भएको उनले बताए । नेपालले खेलकुदमा राम्रो विकास गरिरहेको दाबी गर्दै स्थानियस्तरमा भैरहेको खेल गतिविधि सहयोग सिद्ध हुदै आएको बताए । खेलकुद प्रतियोगितासंगै पूर्वाधार स्थानिय सरकारको प्राथमिकतामा रहेको उनले बताए ।

कार्यक्रममा खेलकुद पत्रकार मंचका अध्यक्ष सुमन अधिकारीले उमेर समुहको खेल प्रतियोगिताबाट युवा खेलाडीहरुलाई अवसरसंगै खेलाडी उत्पादनमा ईटा थप्ने काम भैरहेको बताए ।

 

 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्