Spread the love

काठमाडौं । नयाँ प्रविधि अपनाउने र सेवामा स्तरोन्नति गर्ने योजनाअनुसार एनसेलले कोशी प्रदेशका विभिन्न स्थानमा थ्रीजी सेवा बन्द गर्ने भएको छ । कम्पनीले फोरजी नेटवर्कलाई थप सशक्त बनाउँदै भविष्यको फाइभजीका लागि आधार तयार गर्ने लक्ष्यसहित यो कदम चालेको जनाएको छ ।

एनसेलका अनुसार माघ २२ गतेदेखि कोशी प्रदेशका झापा, धनकुटा र तेह्रथुम जिल्लाका विभिन्न स्थानीय तहमा थ्रीजी सेवा बन्द हुनेछ । थ्रीजी बन्द भएसँगै थ्रीजीमा आधारित भ्वाइस सेवाहरू फोरजीमा आधारित ‘भोइस ओभर लङ टर्म एभोल्युसन’ (भोल्टे) सेवामा रूपान्तरण गर्ने भएको छ ।

कम्पनीले यी क्षेत्रमा रहेका ग्राहकहरूलाई भोल्टे सेवा सक्रिय गरी प्रयोग गर्न आग्रह गरेको छ । भोल्टे प्रविधिमार्फत उच्च गुणस्तरको भ्वाइस कल, छिटो कल कनेक्ट हुने सुविधा तथा उही शुल्कमा फोरजी डेटा प्रयोग गर्न सकिने एनसेलले जनाएको छ ।

भोल्टे सेवा सक्रिय गर्न १२३११३ डायल गर्नुपर्नेछ । सेवा सक्रिय भएपछि मोबाइल फोनको सेटिङमा गई भोल्टे अन गर्नुपर्ने हुन्छ । भोल्टे प्रयोग गर्न फोरजी सपोर्ट गर्ने मोबाइल, फोरजी सिमकार्ड वा इ–सिम तथा फोरजी नेटवर्क उपलब्ध स्थान आवश्यक पर्नेछ ।

एनसेलले आफ्नो फोरजी नेटवर्कमार्फत देशैभर भोल्टे सेवा सञ्चालनमा ल्याइसकेको जनाएको छ । हाल एनसेलको फोरजी कभरेज देशभर झन्डै ९५ प्रतिशत जनसंख्यामा पुगिसकेको कम्पनीको दाबी छ। भोल्टे सेवा प्रयोग गर्न मिल्ने मोबाइल ब्रान्ड तथा मोडल र सेवा सक्रिय गर्ने विस्तृत जानकारी एनसेलको वेबसाइट र एनसेल एपमार्फत प्राप्त गर्न सकिनेछ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्