बुटवल, १४ कात्तिक । रोटरी क्लब अफ बुटवल डाउनटाउन र रोटरी क्लब अफ बुटवल साउथले सामाजिक सेवाका कार्यक्रमलाई थप प्रभावकारी बनाउन संयुक्त रूपमा अघि बढ्ने प्रतिबद्धता जनाएका छन् । रोटरी क्लब अफ बुटवल साउथको निमन्त्रणामा शनिबार देवीनगरस्थित सचिवालयमा रोटरी क्लब अफ बुटवल डाउनटाउनको १ हजार ९९ औँ नियमित तथा दुबै क्लबको संयुक्त बैठक सम्पन्न भएको हो ।
बैठकमा रोटरी क्लब अफ बुटवल साउथका अध्यक्ष नित्यानन्द ज्ञवालीले दुई क्लबबीच आपसी सम्बन्ध विस्तार गर्दै सामाजिक सेवाका क्षेत्रमा सहकार्य गर्ने उद्देश्यले संयुक्त बैठक आयोजना गरिएको बताए । उनले नयाँ कार्यसमिति आएपछि वार्षिक कार्ययोजनाअनुसार छपियामा वृक्षरोपण, गोरखपुरमा आयोजित रोटरी डिष्ट्रिक्टको विशेष कार्यक्रममा सहभागिता, भोटेकोशी बाढीपीडितलाई आर्थिक सहयोग तथा पोलियो उन्मूलन अभियानमा सहभागिता र सहयोगलगायतका कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए । नयाँ रोटरी क्लब गठनका लागि समेत पहल गरिएको उल्लेख गर्दै उनले आगामी दिनमा सामाजिक अभियानलाई सहकार्यका साथ अघि बढाउने बताए ।
त्यसैगरी, रोटरी क्लब अफ बुटवल डाउनटाउनका अध्यक्ष धर्मदत्त ज्ञवालीले रोटरी संस्था मात्र नभई समाजमा सकारात्मक परिवर्तन ल्याउने अभियान भएको बताए । सामाजिक सेवामार्फत नयाँ अवसर सिर्जना गर्दै समुदायको आवश्यकता सम्बोधन गर्न क्लबले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको उनको भनाइ थियो । उनका अनुसार क्लबमार्फत पछिल्लोसमय १५ जना अपाङ्गता भएका व्यक्तिलाई कृत्रिम हातखुट्टा जडान गर्न सहयोग गरेको छ ।
त्यस्तै, पाँच हजार विद्यार्थीको मुटु परीक्षण, आत्माबोध माबि, गुल्मी मालकोटको ८० जनालाई लक्षित गरी ‘ह्याप्पी स्कुल’ अभियानअन्तर्गत तीन वर्षसम्म सहयोग, गुल्मीका विद्यालयमा छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण र देवदहका गृहिणी महिलालाई लक्षित गरी निःशुल्क तालिम सञ्चालनजस्ता कार्यक्रम अघि बढाइएको उनले बताए । अध्यक्ष ज्ञवालीले दुवै क्लबबीचको सहकार्यलाई थप सुदृढ बनाउँदै कम्तीमा एउटा बृहत् सामाजिक परियोजना संयुक्त रूपमा सञ्चालन गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।
कार्यक्रममा साउथ क्लबका पूर्वअध्यक्ष डा आरसी आचार्यले रोटरीको विशेषता समय व्यवस्थापन, सेवाभाव र सहयोगी भावनाको विकास भएको बताए । रोटरीमा आबद्ध व्यक्तिले सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै समुदायको हितमा काम गर्नुपर्ने उनको भनाइ थियो ।
कार्यक्रममा डाउनटाउन क्लबका पूर्वअध्यक्ष राजेन्द्र ढकालले सामाजिक कार्यहरू संयुक्त रूपमा सञ्चालन गर्दा त्यसको प्रभाव र उपलब्धि अझ प्रभावकारी हुने बताए । उनले सामाजिक सेवाका क्षेत्रमा दुई क्लबबीचको सहकार्यले समुदायमा सकारात्मक परिवर्तन ल्याउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । बैठकमा दुवै क्लबका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको रोटरी क्लब अफ बुटवल डाउनटाउनका सचिव योगेन्द्रप्रसाद पन्थीले बताए ।





















