Spread the love

भैरहवा । रुपन्देही क्रिकेट संघका सल्लाहकार बसन्त शाही नेपाली राष्ट्रिय यू–१९ क्रिकेट टोलीको प्रमुख प्रशिक्षकमा मनोनीत भएका छन् । आगामी नोभेम्बर २०२६ मा ओमानमा आयोजना हुने पुरुष यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा सहभागी हुने टिममा नेपाल क्रिकेट संघ (क्यान) ले शाहीलाई प्रमुख प्रशिक्षकको जिम्मेवारी दिएको हो ।

नेपाली क्रिकेटको इतिहाससँग जोडिएका शाही नेपालको पहिलो अन्तर्राष्ट्रिय क्रिकेट टोलीका सदस्यसमेत हुन् । खेलाडीका रूपमा क्रिकेट यात्रा सुरु गरेका उनले अहिले प्रशिक्षकका रूपमा नयाँ पुस्ताका खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने भूमिका निर्वाह गर्दै आएका छन् । शाही रुपन्देही क्रिकेट संघका सल्लाहकार, रुपन्देही क्रिकेट एकेडेमीका प्रमुख प्रशिक्षक तथा लुम्बिनी प्रदेश क्रिकेट संघका प्रादेशिक प्रमुख प्रशिक्षकका रूपमा कार्यरत छन् ।

उनले सन् २०२४ को आईसीसी पुरुष टी–२० विश्वकपमा नेपाली राष्ट्रिय टोलीको सहायक प्रशिक्षकको जिम्मेवारीसमेत सम्हालेका थिए । आगामी यू–१९ एसिया कपमा शाहीको अनुभव, प्रशिक्षण कौशल र रणनीतिक क्षमताले नेपाली युवा खेलाडीको प्रदर्शनमा सकारात्मक प्रभाव पार्ने विश्वास रुपन्देही क्रिकेट संघले व्यक्त गरेको छ । युवा खेलाडीको प्रतिभा विकास गर्दै नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा थप सफल बनाउन शाहीको भूमिका प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्