Spread the love

दाङ । जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल)की लुम्बिनी प्रदेशसभा सदस्य अम्बिका काफ्लेले प्रदेशसभाका सभामुख तुलाराम घर्ती मगरसहित पाँच जनाविरुद्ध कीर्ते तथा जालसाजीको आरोपमा दाङ जिल्ला अदालतमा मुद्दा दायर गरेकी छन्।

काफ्लेले आफूलाई प्रदेशसभा सदस्य पदबाट पदमुक्त गर्न प्रयोग गरिएको पत्र तथा कागजात पार्टीको आधिकारिक निर्णय र अख्तियारीबिना तयार गरी प्रयोग गरिएको दाबी गर्दै मंगलबार मुद्दा दायर गरेकी हुन्।

उनले दायर गरेको फिरादपत्रमा सभामुख घर्ती मगर, प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगर, प्रदेशसभा सचिवालयका प्रवक्ता लोकमणि पाण्डे, जसपा नेपालका प्रदेशसभा सदस्य भनिएका सन्तोष पाण्डे र पार्टीको लेटरहेड प्रयोग गरी विवादित पत्राचार गरेको आरोप लागेका अजयकुमार झालाई विपक्षी बनाइएको छ।

काफ्लेले आफूले पार्टी नत्यागेको, अर्को दलमा प्रवेश नगरेको र राजीनामासमेत नदिएको अवस्थामा अनधिकृत पत्रका आधारमा पदमुक्त गरिएको आरोप लगाएकी छन्। पार्टीको नाम, लेटरहेड, छाप तथा पदाधिकारीको अख्तियारी दुरुपयोग गरी पत्र तयार पारिएको उनको दाबी छ।

मुख्यमन्त्रीलाई विश्वासको मत दिने विषयमा पार्टीको निर्देशन उल्लङ्घन गरेको आरोपमा यसअघि काफ्लेमाथि कारबाही प्रक्रिया अघि बढाइएको थियो। संसदीय दलका नेता सन्तोषकुमार पाण्डेको सिफारिसका आधारमा प्रदेशसभा सचिवालयले उनको पद रिक्त भएको सूचना जारी गरेको थियो।

उक्त निर्णयविरुद्ध काफ्ले सर्वोच्च अदालत पुगेकी थिइन्। सर्वोच्च अदालतले २०८३ असोज ६ गते पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो।

विवादित पत्र गत भदौ २२ गते प्रदेशसभा सचिवालयमा दर्ता भएको र त्यसैका आधारमा भदौ २४ गते काफ्लेलाई पदमुक्त गरिएको सूचना जारी भएको विवरणमा उल्लेख छ। तर, उक्त पत्र पार्टीको आधिकारिक निर्णय र अख्तियारीअनुसार तयार नभएको काफ्लेको दाबी छ।

सर्वोच्च अदालतको अन्तरिम आदेशपछि पनि विवादित पत्रको आधिकारिकता र प्रयोगबारे प्रश्न उठिरहेको अवस्थामा काफ्लेले जिल्ला अदालतमा छुट्टै मुद्दा दायर गरेकी हुन्।

उनले मुलुकी अपराध संहिता, २०७४ को दफा २७६ र २७७ लगायत प्रचलित कानुनअनुसार कारबाही गर्न माग गरेकी छन्। साथै, विवादित पत्रको सक्कल प्रति, दर्ता तथा चलानी किताब, कार्यालयीय निर्णय, पार्टीका आधिकारिक पत्राचार, लेटरहेड, छाप र हस्ताक्षरका नमुना परीक्षण गरी संलग्न व्यक्तिहरूको भूमिका यकिन गर्न माग गरेकी छन्।

काफ्लेले विवादित लिखतलाई कीर्ते तथा जालसाजीपूर्ण ठहर गरी अमान्य घोषित गर्न र आफूले व्यहोरेको क्षतिको कानुनी उपचार दिलाउनसमेत माग गरेकी छन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्