काठमाडौं, १० कात्तिक ।
नेपालले राष्ट्रिय नियमित खोप कार्यक्रम सञ्चालनका लागि सन् २०३० सम्म ८ अर्ब ५९ करोड १९ लाख ६८ हजार रुपैयाँ बराबरको सहायता प्राप्त गर्ने भएको छ। ‘गाभी, द भ्याक्सिन एलायन्स’बाट नेपालले उक्त सहायता प्राप्त गर्ने भएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार गाभीबाट नेपालको नियमित खोप कार्यक्रमका लागि प्रदान हुँदै आएको सहायता रकमको आर्थिक वर्ष २०१६/१७ देखि २०२१/२२ सम्मको लेखापरीक्षणका क्रममा प्रक्रियागत त्रुटि औँल्याउँदै फिर्ता गर्नुपर्ने भनिएको ३ लाख ८ हजार २७१ अमेरिकी डलर रकमसमेत मिनाहा गराउन नेपाल सफल भएको छ ।
स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताको पहल तथा गाभीसँगको संवादपछि सहायता रकमसम्बन्धी विषयमा सहजीकरण भएको मन्त्रालयले जनाएको छ। फिर्ता गर्नुपर्ने भनिएको रकम मिनाहा हुनुका साथै सन् २०३० सम्मका लागि खोप सहायता सुनिश्चित हुनुले नेपालको राष्ट्रिय खोप कार्यक्रमको वित्तीय व्यवस्थापनमा महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
विश्वव्यापी रूपमा विकास सहायता तथा वित्तीय स्रोतमा दबाब बढिरहेको अवस्थामा दीर्घकालीन खोप सहायता सुनिश्चित हुनु नेपालको नियमित खोप कार्यक्रमलाई दिगो बनाउने दिशामा महत्त्वपूर्ण उपलब्धि भएको मन्त्रालयले जनाएको छ । यस सहायताले नियमित खोप कार्यक्रमको निरन्तरता र प्रभावकारी सञ्चालनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।






















