Spread the love

नेपालगन्ज । नेपालगन्जमा तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिप आयोजना हुने भएको छ । स्वीमिङ खेलको प्रवद्र्धन, खेलाडीको क्षमता विकास तथा सर्वसाधारणमा पौडीप्रति आकर्षण बढाउने उद्देश्यले नेपालगन्ज स्वीमिङ क्लबको आयोजनामा कात्तिक १४ र १५ गते नेपालगन्ज रंगशालामा हुने प्रतियोगिताको तयारी पुरा भएको क्लबका अध्यक्ष केशव न्यौपानेले बताए ।

प्रतियोगितामा नौ वर्षमुनिका बालबालिकादेखि १७ वर्षभन्दा माथिका खेलाडीसम्मले फ्रिस्टाइल, ब्याकस्ट्रोक, बटरफ्लाई, रिले र व्यक्तिगत मेड्ले विधामा प्रतिस्पर्धा गर्ने छन । प्रतियोगितामा ५० देखि २०० मिटरसम्मका विभिन्न स्पर्धा समावेश गरिनेछन् । क्लबले स्थापनाकालदेखि नै पौडी खेलको विकासका लागि राष्ट्रियस्तरका प्रतियोगिता आयोजना गर्दै आएको छ । प्रतियोगितामा सहभागी हुने खेलाडीलाई स्वीमिङ प्रशिक्षक चन्द्रमान चौधरी र दीपक परियारले नेपालगन्जस्थित होटल सिद्धार्थको स्वीमिङ पुलमा नियमित प्रशिक्षण दिइरहेका छन् ।

प्रतियोगिता सञ्चालनका लागि लुम्बिनी प्रदेश खेलकुद परिषद्, नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, नेपालगन्ज उपमहानगरपालिकाका वडा नं. ६, १२ र १५ तथा जानकी गाउँपालिका–३ लगायतका निकायले आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । क्लबका वरिष्ठ उपाध्यक्ष सूर्य मणि अधिकारीका अनुसार प्रतियोगिताका बैंकिङ साझेदारमा नबिल बैंक, सिद्धार्थ बैंक र माछापुच्छ्रे बैंक रहेका छन् । विद्यालय साझेदारका रूपमा आदर्श, बागेश्वरी एकेडेमी र शिखा एकेडेमी जोडिएका छन् । त्यसैगरी स्क्रिन पार्टनरमा उर्मी अर्थ र आईटी पार्टनरमा टेन्को फन्ट रहेका छन् ।

प्रतियोगितामा सहभागी खेलाडीका लागि खेल अवधिभर नेपालगन्जका चारतारे स्तरका होटलमा निःशुल्क आवास तथा खानाको व्यवस्था गरिएको आयोजकले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न करिब ३५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । प्रतियोगितामा भारतको लखनउ, दिल्ली र पञ्जाबलगायत क्षेत्रबाट करिब ५० तथा नेपालगन्जसहित देशका विभिन्न स्थानबाट १५० गरि करीब २ सय खेलाडीले भाग लिने निश्चित भएको क्लबका अध्यक्ष न्यौपानेले बताए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्