काठमाडौं । गायक तथा सर्जक दुर्गेश थापाले वरिष्ठ गायक आनन्द कार्कीसँगको पारिश्रमिकसम्बन्धी विवादबारे आफ्नो धारणा सार्वजनिक गरेका छन् । प्राइम टिभीबाट प्रसारित ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा गायक आनन्द कार्कीले व्यक्त गरेको अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको जनाउँदै दुर्गेशले प्रेस विज्ञप्तिमार्फत आफ्नो पक्ष स्पष्ट पारेका हुन् ।
उनले आफ्नो सिर्जना ‘दुश्मन हेरेको हे¥यैमा’ गीतमा सहकार्य गरेका आनन्द कार्कीसहित सम्पूर्ण कलाकार तथा प्राविधिकको पारिश्रमिक सम्बन्धित समयमै भुक्तानी गरिसकेको दाबी गरेका छन् । उक्त गीतमा कार्कीसँग सहमति भएको पारिश्रमिकसमेत भुक्तानी गरिसकेको उल्लेख गर्दै त्यसको प्रमाण विज्ञप्तिसँगै संलग्न गरेको उनले बताएका छन् । दुर्गेशले नेपाली संगीत क्षेत्रका अग्रज कलाकारप्रति आफ्नो उच्च सम्मान रहेको उल्लेख गर्दै कार्कीसँग सहकार्य गर्न पाउनुलाई महत्त्वपूर्ण अवसरका रूपमा लिएको बताएका छन् ।
त्यस्तै, कार्यक्रममा उल्लेख गरिएको अर्को गीतका सम्बन्धमा पनि उनले स्पष्टीकरण दिएका छन् । उक्त गीत आफ्नो सिर्जना भए पनि चलचित्रका लागि तयार गरिएको भन्दै त्यससँग सम्बन्धित निर्माण, व्यवस्थापन तथा भुक्तानीको जिम्मेवारी सम्बन्धित चलचित्र पक्षको रहेको उनले स्पष्ट पारेका छन् । विषयको पूर्ण सन्दर्भ नबुझी व्याख्या गर्दा गलत बुझाइ उत्पन्न हुन सक्ने उल्लेख गर्दै दुर्गेशले आफ्नो सिर्जनात्मक संलग्नता र चलचित्र परियोजनासँग सम्बन्धित जिम्मेवारीबीचको भिन्नता बुझिदिन आग्रह गरेका छन् ।
उनले आफ्नो उद्देश्य कसैप्रति आरोप लगाउनु वा विवाद सिर्जना गर्नु नभई वास्तविकता स्पष्ट पार्नु रहेको बताएका छन् । नेपाली संगीत क्षेत्रको गरिमा कायम राख्न अग्रज कलाकारप्रतिको सम्मान, आपसी विश्वास र सहकार्यलाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै उनले प्रस्तुत तथ्यका आधारमा निष्पक्ष बुझाइ कायम गरिदिन सञ्चारमाध्यम, संगीतकर्मी तथा शुभेच्छुकलाई आग्रह गरेका छन् ।




















