Spread the love

झापा । झापाको शिवसताक्षी नगरपालिका–१०, टेक्रास्थित पार्वती अम्बिका कन्स्ट्रक्सन कम्पनीमा जमिनमुनि राखिएको डिजेल ट्याङ्की विस्फोट हुँदा आगलागी भएको छ । आइतबार साँझ भएको घटनामा टिफर चालक घाइते भएका छन् । प्रहरीका अनुसार कात्तिक ८ गते साँझ करिब ७ः३० बजे कम्पनी परिसरमा रहेको भूमिगत ट्याङ्कीबाट टिफरमा डिजेल लोड गर्ने क्रममा अचानक ट्याङ्की विस्फोट भएर आगलागी भएको हो ।

ट्याङ्कीमा करिब ९ हजार ५०० लिटर लाइट डिजेल भण्डारण गरिएको थियो । आगलागीको रापबाट प्रदेश १–०१–००१ क १८०० नम्बरको टिफरका चालक घाइते भएका छन् । घाइते हुनेमा इलामको माङ्सेबुङ गाउँपालिका–३ निवासी ३५ वर्षीय कोफियत राई रहेका छन् । उनको अवस्था सामान्य रहेको र उनी घटनास्थलमै रहेको प्रहरीले जनाएको छ । घटनामा टिफरमा सामान्य क्षति पुगेको छ भने ट्याङ्कीमा भण्डारण गरिएको सम्पूर्ण डिजेल जलेर नष्ट भएको छ ।

आगलागी नियन्त्रणका लागि इलाका प्रहरी कार्यालय झिलझिलेबाट प्रहरी निरीक्षक महेन्द्र पराजुलीको कमाण्डमा प्रहरी टोली खटिएको थियो । शिवसताक्षी नगरपालिकाको दमकल तथा कम्पनीका कर्मचारीको सहयोगमा आगो नियन्त्रणमा लिन सफल भएको थियो ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्