Spread the love

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे चेकपोइन्ट नजिकबाट कारको फल्स बटममा लुकाएर ल्याइएको १४ किलो १८० ग्राम चाँदीजस्तो देखिने धातुसहित चार जना पक्राउ परेका छन् । प्रहरी चौकी रातोमाटेबाट प्रहरी नायब निरीक्षक प्रमोदकुमार साहको कमाण्डमा खटिएको टोलीले कात्तिक ८ गते दिउँसो भारतको रक्सोलबाट काठमाडौं जाँदै गरेको बा २ च ७०७९ नम्बरको कार रोकेर चेकजाँच गर्ने क्रममा उक्त धातु फेला पारेको हो ।

पक्राउ पर्नेमा भारतको रक्सोल निवासी करिब ५० वर्षीय कार चालक रमेश कुमार साह सोनार, उनकी करिब ४२ वर्षीया श्रीमती चन्दा देवी सोनार, चालकका १७ वर्षीय छोरा र करिब २० वर्षीया भान्जी नन्दनी कुमारी साह रहेका छन् । कारको चेकजाँच गर्दा चारवटै ढोकाको भित्री भागमा फल्स बटम बनाएर चाँदीजस्तो देखिने धातु लुकाइएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । बरामद धातुको शुद्ध तौल १४ किलो १८० ग्राम रहेको छ ।

पक्राउ परेका चारै जनालाई बरामद धातुसहित थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखिएको छ । बरामद धातु वास्तविक चाँदी हो वा अन्य कुनै धातु भन्नेबारे परीक्षण तथा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्