Spread the love

रुपन्देही । रुपन्देहीको भैरहवामा ३ अर्ब ८२ करोड रुपैयाँ लगानीमा २०० बेडको अत्याधुनिक क्यान्सर अस्पताल निर्माण हुने भएको छ । सिद्धार्थनगर नगरपालिका–८, अञ्चलपुरमा निर्माण प्रस्ताव गरिएको लुम्बिनी क्यान्सर अस्पतालको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदन स्वीकृत भएसँगै आयोजना अघि बढाउने बाटो खुलेको हो ।

कृषि, वन तथा वातावरण मन्त्रालयको २०८३ असोज १२ गतेको मन्त्रीस्तरीय निर्णयबाट ईआईए प्रतिवेदन स्वीकृत भएको हो । लुम्बिनी क्यान्सर हस्पिटल प्रालिमार्फत निर्माण गर्न लागिएको अस्पताल करिब तीन बिघा क्षेत्रफलमा फैलिनेछ । अस्पतालका सञ्चालक तथा लगानीकर्ता कमल भण्डारीका अनुसार ईआईए स्वीकृत भएपछि आवश्यक प्रक्रिया पूरा गरी निर्माण कार्य अघि बढाइनेछ ।

वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनमा भौतिक संरचना निर्माण सम्पन्न गरी सञ्चालन अनुमति प्राप्त गरेको तीन वर्षभित्र अस्पताल सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ । प्रस्तावित अस्पतालमा क्यान्सर रोगको पहिचान, उपचार तथा शल्यक्रियासहितका विशिष्टीकृत स्वास्थ्य सेवा उपलब्ध गराउने योजना छ । अस्पतालमा प्रयोगशाला, रेडियोलोजी, अल्ट्रासाउन्ड, प्याथोलोजी, २४ घण्टे आकस्मिक सेवा, शल्यक्रिया कक्ष, सघन उपचार कक्ष (आईसीयू), बहिरङ्ग सेवा (ओपीडी), किमोथेरापी र रेडियोथेरापीलगायत सेवा सञ्चालन गरिनेछ ।

त्यसैगरी, बोनम्यारो प्रत्यारोपण तथा बालबालिकामा हुने क्यान्सरको उपचारलगायत विशेषज्ञ सेवा पनि प्रस्ताव गरिएको छ ।
अस्पताल सञ्चालनमा आएपछि २८५ जनाले प्रत्यक्ष रोजगारी पाउने अनुमान गरिएको छ। तीमध्ये २२० जना प्राविधिक र ६५ जना प्रशासनिक तथा अन्य अप्राविधिक कर्मचारी रहने प्रस्ताव छ ।

लुम्बिनी र गण्डकी प्रदेशका नागरिकलाई क्यान्सर उपचार सेवा उपलब्ध गराउने उद्देश्यले अस्पताल निर्माण गर्न लागिएको लगानीकर्ता भण्डारीले बताएका छन् । अस्पताल सञ्चालनमा आएपछि रुपन्देहीसहित कपिलवस्तु, नवलपरासी, पाल्पा, गुल्मी, अर्घाखाँची, प्युठान, रोल्पा र दाङका बिरामीलाई समेत सहज हुने अपेक्षा गरिएको छ । क्यान्सर उपचारका लागि काठमाडौं, चितवन तथा भारतका विभिन्न सहर जानुपर्ने बाध्यता कम गर्न अस्पतालले सहयोग पु¥याउने विश्वास गरिएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्