बुटवल । बडादसैँको महाअष्टमी नेवार समुदायका लागि शक्तिको उपासना, कुलदेवताको आराधना र पारिवारिक आत्मीयता साटासाट गर्ने विशेष दिन हो । यस दिन गरिने पूजाआजा र परम्परागत भोजमध्ये ‘कुछी भ्वय्’ नेवारी संस्कृतिको मौलिक पहिचान बोकेको महत्वपूर्ण परम्परा हो ।
रुपन्देहीको बुटवल, तिलोत्तमा र भैरहवालगायत क्षेत्रमा बसोबास गर्ने नेवार समुदायले पनि यस परम्परालाई पारिवारिक जमघट र सांस्कृतिक निरन्तरताको अवसरका रूपमा लिने गरेका छन् । नेपाल भाषामा ‘भ्वय्’ को अर्थ भोज हो । ‘कुछी’ शब्दको अर्थबारे भने फरक–फरक व्याख्या पाइन्छन् । एउटा प्रचलित मान्यताअनुसार दुई माना चिउरा राखेर परम्परागत भोज खाने चलनबाट ‘कुछी भ्वय्’ नाम रहन गएको हो । अर्को व्याख्याअनुसार एउटै कुलका सदस्य एकै ठाउँमा भेला भएर भोज खाने परम्परासँग यसको सम्बन्ध छ । ‘कुलछी भ्वय्’ शब्द अपभ्रंश हुँदै ‘कुछी भ्वय्’ बनेको हुन सक्ने संस्कृतिकर्मीहरूको भनाइ छ ।
बुटवलका स्थानीय व्यवसायी तथा समाजसेवी महेश थैव कुछी भ्वय् परिवारका सदस्य एकै ठाउँमा भेला भएर आत्मीयता साटासाट गर्ने अवसर ठान्छन । आआफनो काममा ब्यस्त परिवारका सदस्यहरु यो दिन एकैठाउ भेला भएर सामूहिक रूपमा दसैँ मनाउने परम्पराबाट सम्बन्धलाई अझ प्रगाढ बनाउने उनको दाबी छ । व्यापार, रोजगारी र अन्य व्यस्तताका कारण वर्षभरि नियमित रूपमा भेटघाट गर्न नपाउने परिवारका सदस्य पनि चाडपर्वका अवसरमा एकै ठाउँमा भेला हुन्छन् । ज्येष्ठ सदस्यको उपस्थितिमा गरिने पूजा, पारिवारिक भेटघाट र सामूहिक भोजले परिवारभित्रको एकता र आपसी सद्भावलाई बलियो बनाउने उनि बताउछ । ‘कुछी भ्वय् पनि यही आत्मीयता र सामूहिक जीवनशैलीसँग जोडिएको परम्परा हो ।’–उनले भने ।
परम्परागत परिकारसहितको भोजले स्वादको आनन्द मात्रै दिँदैन, पुर्खादेखि चल्दै आएका खानपानका शैली र संस्कारलाई नयाँ पुस्तासम्म पु¥याउने माध्यमको कामसमेत गर्छ । आधुनिक जीवनशैली, सहरीकरण र व्यस्त दैनिकीका कारण चाडपर्व मनाउने शैलीमा परिवर्तन आइरहेको बेला कुछी भ्वय्जस्ता परम्पराले परिवारका सदस्यलाई नजिक ल्याउनुका साथै समुदायको सांस्कृतिक पहिचानलाई जीवन्त राख्न सहयोग पु¥याउँछन् ।
नेवा सेवा समिति बुटवलका निवर्तमान अध्यक्ष चिरञ्जीवी श्रेष्ठ महाअष्टमीका दिन गरिने पूजाआजा तथा कुछी भ्वय्जस्ता परम्पराले परिवारका सदस्यलाई एकै ठाउँमा जोड्नुका साथै आफ्नो मौलिक संस्कृति र संस्कारको स्मरण गराउने बताउछन । पुस्तौँदेखि चल्दै आएका यस्ता प्रचलनलाई निरन्तरता दिन परिवार र समुदाय दुवैको भूमिका विशेष हुने उनी बताउछन । नेवार समुदायभित्र पनि स्थान, कुलपरम्परा र समुदायअनुसार चाडपर्व मनाउने विधिमा केही भिन्नता पाइन्छ ।






















