Spread the love

बुटवल । समाजसेवी तथा युवा व्यवसायी गोपाल रानाले दसैँ खर्च कटाएर ज्येष्ठ नागरिक मिलन केन्द्र तथा धर्मशाला निर्माणका लागि २ लाख १ हजार रुपैयाँ सहयोग गरेका छन् । बुटवल–१०, रामनगरस्थित दुर्गा मन्दिर परिसरमा निर्माण गरिने ज्येष्ठ नागरिक मिलन केन्द्र तथा धर्मशालाका लागि रानाले उक्त रकम दान गरेका हुन् ।

मन्दिर परिसरमा असोज २५ गतेदेखि सञ्चालित श्रीमद् देवी भागवत ज्ञान महायज्ञको आइतबार समापनका अवसरमा उनले सहयोग रकम हस्तान्तरण गरेका थिए । महायज्ञ समापन कार्यक्रममा बोल्दै रानाले मानवीय सेवामा योगदान पु¥याउने आफ्नो उद्देश्यअनुरूप दसैँमा हुने खर्च कटाएर रकम सहयोग गरेको बताए । उनले सानो भए पनि सामाजिक तथा मानवीय सेवाका क्षेत्रमा निरन्तर योगदान गर्ने प्रयास गर्दै आएको उल्लेख गरे ।

बुटवलस्थित ड्रिम इन्टरनेसनल तथा तिलोत्तमास्थित ड्रिम गोल्ड रिसोर्टका सञ्चालकसमेत रहेका रानाले शिक्षा, स्वास्थ्य तथा सामाजिक सेवाका क्षेत्रमा सहयोग गर्दै आएका छन् । उनले बुटवलका एक दर्जनभन्दा बढी विद्यालय, मानव सेवा आश्रम, अपाङ्गता भएका व्यक्तिहरूको आश्रम तथा विभिन्न मठमन्दिरमा अक्षयकोष स्थापना गरेका छन् । रकम सहयोग गर्ने रानालाई रामनगरस्थित दुर्गा मन्दिर व्यवस्थापन समिति तथा यज्ञ सम्पादन मूल समितिका अध्यक्ष इन्द्रध्वज मल्लले प्रमाणपत्र र दोसल्लासहित अभिनन्दन गरेका थिए ।

रामनगर क्षेत्रमा धार्मिक सद्भाव र एकता कायम गर्ने उद्देश्यले दुर्गा मन्दिर स्थापना गरी नियमित पूजाआजा सञ्चालन हुँदै आएको अध्यक्ष मल्लले बताए । महायज्ञबाट संकलित रकमबाट ज्येष्ठ नागरिक दिवा मिलन केन्द्र तथा धर्मशाला निर्माण गरिने मन्दिर व्यवस्थापन समितिका महासचिव दिलिपकुमार सुनारले बताए । उनका अनुसार केन्द्र ज्येष्ठ नागरिकहरूका लागि भेटघाट, भजनकीर्तन र आपसी सद्भाव आदानप्रदान गर्ने साझा थलोका रूपमा विकास गरिनेछ ।

करिब सात कठ्ठा क्षेत्रफलमा फैलिएको मन्दिर परिसरमा यसअघि नै क्रियापुत्री भवन र सामुदायिक भवन निर्माण भइसकेका छन् । प्रस्तावित ज्येष्ठ नागरिक मिलन केन्द्र तथा धर्मशाला निर्माणपछि ज्येष्ठ नागरिकलाई सामाजिक तथा धार्मिक गतिविधिमा सहभागी हुन सहज हुने अपेक्षा गरिएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्